पाल्पा , छुवाछुत तथा कुरिति विरुद्धको सचेतनामूलक कार्यक्रम बुधबार रामपुर नगरपालिका वडा नं. ९ जब्गादी पाल्पामा सम्पन्न भएको छ ।
रामपुर नगरपालिकाको लक्षित वर्ग तर्फको कार्यक्रम अन्तर्गत छुवाछुत र कुरिति सम्बन्धि प्रशिक्षण सहितको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले छुवाछुत रहित र कुरिति रहित समाज निर्माणका लागि मानिसको विचार परिवर्तन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले समाजमा हुने विभिन्न विभेदको अन्त्यको सुरुवात आफैबाट शुरु गर्नु पर्ने बताउनुभयो । साथै दलित समुदायले आफु दलित भएको अनुभुति गर्नु भन्दा आफ्नो व्यवहारमा परिवर्तन गर्न आग्रह गर्नुभयो । विभेद हटाउनका लागि शिक्षा र सचेतनाको महत्वपूर्ण भुमिका हुने भन्दै शिक्षामा जोड दिनु पर्ने बताउनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहाले कुरितिका कारण गाँउघरमा धेरै समस्या रहेको र सोहि कारण विभिन्न घटना घट्ने गरेको बताउनुभयो । छुवाछुत र कुरितिको अन्त्यका लागि शिक्षा र सचेतनाको आवश्यकता रहेको उहाँले बताउनुभयो ।
रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले कुनै किसिमको जातिय वा लैंगिक विभेद सहन नहुने भन्दै समाजमा रहेका छुवाछुत तथा कुरिति विकृति विसंगति हटाउन सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । समाजमा व्याप्त छुवाछुत र कुरिति पहिले भन्दा धेरै कम हुँदै गएको भन्दै यसलाई निर्मुल गर्नु पर्ने उल्लेख गर्नुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका कार्यपालिका सदस्य मायादेवि नेपालीले छुवाछुत र कुरितिको अन्त्यका लागि सबै एक भएर लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले समाजमा रहेका छुवाछुत र कुरितिको अवस्था , यसको समस्या , समाधानका उपाय , कानुनी उपचार लगाएतका विषयमा सहजिकरण गर्नु भएको थियो ।
रामपुर नगरपालिका वडा नं. ९ का अध्यक्ष डिल बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियारको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन प्रेस सल्लहाकार दानु हिस्की मगरले गर्नु भएको थियो ।