रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको समीक्षा बैठक सम्पन्न

पाल्पा, रामपुर नगरपालिकामा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको परियोजना व्यवस्थापन तथा अनुगमन समितिको समीक्षा बैठक सम्पन्न भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक साझेदारी र बेस नेपालको सहजिकरणमा सञ्चालन भएको परियोजना अन्तर्गत व्यवस्थापन तथा अनुगमन समितिको समीक्षा बैठक सम्पन्न बैठक रामपुर नगरपालिकाको सभाहलमा भएको हो ।

बैठकमा बोल्दै रामपुर नगपालिका प्रमुख रमण बहादुर थापाले गैर सरकारी संस्था संगको साझेदारीमा सञ्चालन भएका कार्यक्रमले पछाडी परेका समुदायको समस्या पहिचान संगै समाधानमा सहजता आएको बताउनुभयो । उहाँले महिला तथा युवा उद्यमीहरुको आर्थिक अवस्था सुधारमा परियोजनाले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत शोभाखर न्यौपानेले परियोजना हेफरको नभै नगरपालिकाको आफ्नै कार्यक्रम भएको बताउनुभयो । हेफर प्रोजेक्ट नेपालका अधिकृत डा. लेखनाथ अधिकारीलेले एक स्वास्थ्य अवधारणाको विषयमा प्रकाश पार्नु भएको थियो । उहाँले पशुपंक्षि बाट सर्न सक्ने रोगहरुको बारेमा जानकारी गराउँदै समाधानको विषयमा पनि जानकारी दिनु भएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपाने र रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का वडाध्यक्ष कपिल बहादुर खाँणले सुझाव सहित आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारले परियोजना मार्फत नगरका १ हजार १ सय ९० परिवारमा हेफरले प्रत्यक्ष रुपमा काम गर्दै आएको बताउनुभयो । उहाँले परियोजना मार्फत हाल सम्म भएका कार्य र प्राप्त उपलब्धीको विषयमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यस्तै ब‌ठकले एक स्वास्थ्य अवधारणा अन्तर्गत कृष्ण बहादुर दर्जीको संयोजकत्वमा ५ सदस्य नगरपालिका स्तरीय एक स्वास्थ्य समिति गठन गरेको छ । समिति सदस्यहरुमा नगरपालिका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, पशु शाखा प्रमुख तुलसीराम काफ्ले र कृषि शाखा प्रमुख रामहरी पाण्डे लगाएत रहनु भएको छ । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका सामुदायिक सहजकर्ता सुस्मा आलेले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?