नेपाल मगर महिला संघ द्वारा टेवा नेपालको सहयोगमा रामपुरका आगोलागी पिडितलाई राहत प्रदान

पाल्पा, नेपाल मगर महिला संघ केन्द्रिय कार्यसमितिले टेवा नेपालको सहयोगमा पाल्पाको रामपुरका आगोलागी पिडित परिवारलाई राहत प्रदान गरेको छ । संघले सोमबार रामपुर नगरपालिका–९ मधुकोटको ५ घर र वडा नं. २ भलायटारको १ घर गरी ६ घरपरिवारलाई राहत सामाग्री प्रदान गरेको हो ।

गत बैशाख २६ गते भएको आगोलागी बाट घर नष्ट भएपछि छिमेकी र नजिकैको विद्यालयमा आश्रय लिदै आएका मधुकोटका स्थानीयलाई गाउँ मै पुगेर राहत हस्तान्तरण गरेको हो । केन्द्रिय समितिका पदाधिकारीहरुको उपस्थितिमा संघले लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ र रामपुर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष डिल बहादुर राना मार्फत राहत सामाग्री वितरण गरेको थियो । खाद्यान्न, पकाउने भाँडा, झुल सहित ओढ्ने ओछ्याउने कपडा प्रदान गरेको थियो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले ग्रामीण क्षेत्रमा आएर पिडित परिवारको पिडा साथ दिएकोमा धन्यवाद दिदै लुम्बिनी प्रदेश मार्फत पनि आवश्यक राहतको लागि पहल भैरहेको बताउनुभयो । टेवा नेपाल र संघले विपद्मा परेका स्थानीयका लागि देखाएको सक्रियताको प्रशंसा गर्दै सामाजिक कार्यमा अघि बढ्न शुभकामना दिनुभयो । रामपुर नगरपालिका–९ का वडा अध्यक्ष डिल बहादुर रानाले सहयोग र सद्भावका लागि संघ र टेवा नेपाललाई धन्यवाद दिनुभयो । राहत वितरणलाई व्यवस्थित गर्न वडाले एक द्वार प्रणाली बाट राहत संकलन र वितरणको व्यवस्था गरेको जानकारी दिनुभयो ।

नेपाल मगर महिला संघ केन्द्रिय समितिका अध्यक्ष हिरुसरा राना मगरले मगरले संघले यस अघि हङकङमा बसोबास गर्ने नेपालीहरुको सहयोगमा राहत वितरण गरेकोमा अहिले टेवा नेपाल मार्फत थप राहत प्रदान गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “पिडित परिवारमा आगोलागीले दिएको पिडा त थियो नै त्यसैमाथि खेतीपाती खडेरीले बालीनालीमा सुक्नाले थप पिडा दिएको छ । दुखेको घाउमा मल्हम लगाउने प्रयास मात्र गरेका हौं ।” उहाँले यस अघि छुटेका अत्यावश्यक सामाग्री प्रदान गरिएको बताउनुभयो । संघले समुदायको भाषा, संस्कृतिको संरक्षण र महिला उत्थानको लागि कार्य गर्दै आएकोमा महिलाहरुको लागि कार्य गर्दै आएको टेवा नेपालको सहयोगमा राहत वितरण गरिएको जानकारी दिनुभयो । संघ विपद् आईरहेको अवस्थामा देशैभर पुगिरहेको स्पष्ट पार्नुभयो ।

राहत वितरण कार्यक्रममा विपद् व्यवस्थापन समितिका सदस्य केशव पंगेनीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन नेपाल मगर महिला संघ केन्द्रिय उप–महासचिव चित्रा श्रीसले गर्नु भएको हो । कार्यक्रममा नेपाल मगर महिला संघ केन्द्रिय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष धन कुमारी राना, सांस्कृतिक उपाध्यक्ष देवी थापा मगर, महासचिव मिना घर्ति मगर, प्रशासन सचिव चन्दा थापा, कोषाध्यक्ष सुदा राना, लुम्बिनी प्रदेश अध्यक्ष केशरी गाहा मगर, नेपाल मगर संघ पाल्पाका कोषाध्यक्ष दुर्गादेवी राना सहित स्थानीय सरोकारवाहरुको सहभागीता रहेको थियो ।

गत बैशाख २४ गते रामपुर–२ भलायटारमा टिकाराम थापाको घरमा र २६ गते रामपुर ९ मधुकोटको दल बहादुर साठीघरे, ऐतुराम साठीघरे, खेम बहादुर साठीघरे र लोक बहादुर साठीघरेको घर जलेर नष्ट भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?