रामपुर नगरपालिका ५ को वडा सभा सम्पन्न

पाल्पा, रामपुर नगरपालिका ५ नं. वडा कार्यालयको वडा सभा सम्पन्न भएको छ । आर्थिक वर्ष २०८०/०८१ का लागि नीति तथा कार्यक्रम र योजना तर्जुमा गर्न वडा कार्यालयले मंगलबार वडा सभा सम्पन्न गरेको हो ।

वडा सभामा वडाध्यक्ष दुर्गा प्रसाद पोखरेलले एक वर्षको अवधिमा वडामा सञ्चालन भएका कार्यक्रम तथा योजना, आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमबारे जानकारी दिनुभएको थियो । उहाँले वडालाई हरियाली शहरको रुपमा विकास गर्नका लागि प्राथमिकता दिने नीति अवलम्बन गरिने बताउनुभयो । वडामा पछिल्लो समय बस्ती विस्तार तिव्र रुपमा भैरहेको बताउँदै वडालाई हरित शहरको रुपमा विकास गर्ने नीति लिईएको बताउनुभयो । उहाँले खाली जमिन, सडक छेउ, वन छेउछाउका जमिनमा फलफूल जन्य, जडीबुटी जन्य तथा सौन्दर्य परक विरुवा रोप्न प्रोत्साहन गरिने, वडा भित्रका वन तथा धार्मिक क्षेत्रमा श्रृङ्गार युक्त एवं बहुआयामिक रुख विरुवा रोपण र संरक्षण गरी आर्थिक उपार्जन संग जोड्ने गरी विरुवा लगाउने, पुराना बगैचा, चौपारीको पहिचान गरी बगैचाको रुपमा विकास गर्न आवश्यक सहयोग गर्ने बताउनुभयो । पोखरेलले पूर्वाधार निर्माण संगै कृषि, शिक्षा र पर्यटनमा जोड दिईने जानकारी गराउनुभयो ।

प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य श्रेष्ठले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर विकासको काम गर्ने र वडाले पनि सोही अनुसार योजना बनाएकोमा अबका दिनमा विकासका कामहरु देखिने बताउनुभएको छ । रामपुरको ५ नम्वर वडा नगरको केन्द्रमा रहेकाले विकास निर्माणलाई जोड दिदै समग्र नगरको देखिने र जनताले अनुभुती गर्ने खालको काम अहिलेको आवश्यकता रहेको प्रदेश सभा सदस्य श्रेष्ठले बताउनुभयो । ठुला योजना संचालन गरेर बिचमै अलपत्र छाड्नुभन्दा साना योजनाबाट पनि प्रतिफल लिन सकिने हुदा आत्मनिर्भर हुने गरी विकासको काममा प्रदेश सरकार र स्थानीय सरकारले मिलेर काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा नेपाल महिला संघका केन्द्रिय सदस्य पवित्रा पौडेल ढकाल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्रप्रकाश ढकाल, नेकपा एमाले वडा कमिटी अध्यक्ष मिनराज रेग्मी, शित्तल टोल विकास संस्थाका संयोजक एवं पूर्व कार्यपालिका सदस्य सावित्रा गौतम लगायतले बोल्नुहुँदै रामपुरको वडा नं ५ नगरकै मुख्य भागमा रहेकोले विकास निर्माणका कामलाई नमुना, वडाको आवश्यकताका आधारमा कार्यक्रम छनौट गरी काम गर्न सुझाव दिनुभएको छ । निर्माणाधीन रामजानकी मन्दिरमा भएको वडासभामा जनप्रतिनिधि, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि, उद्योग वाणिज्य संघ, टोल विकास समिति, पत्रकार, विद्यालयका प्रअ तथा शिक्षक प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी लगायतको सहभागीता रहेको थियोे । सहभागीहरुले नीति तथा कार्यक्रम माथि आफ्नो सुझाव राखेका थिए । कार्यपालिका सदस्य माया नेपालीले स्वागत बाट सुरु भएको कार्यक्रममा वडा सदस्य युवराज शाहीले धन्यवाद दिनुभएको थियो । कार्यक्रमको संचालन वडा सदस्य नरेन्द्रकुमार जर्घा र वडा सचिव रजनी भण्डारीले गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?