पाल्पा, मानवताका लागि योग भन्ने नाराका साथ पाल्पाको रामपुरमा पनि नवौं अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजना र रामपुर योग समितिको सहआयोजनामा बुधबार कार्यक्रम गरी दिवस मनाईएको हो ।
दिवस विशेष कार्यक्रमको उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले आफू स्वस्थ्य भएमा मात्र अन्य कार्य गर्न सकिने भन्दै योग स्वास्थ्यका लागि अपरिहार्य रहेको बताउनुभयो । लुम्बिनी प्रदेशले मेरो स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने अवधारणलाई अघि बढाएको बताउनुभयो । प्रदेशले स्वास्थ्य क्षेत्रको विकासको लागि पहल गरिरहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले योगले मानव शरीरको लागि आवश्यक शारिरीक कसरतको परिपूर्ति गर्ने बताउनुभयो । योगले रोग लाग्न नदिनको लागि ठूलो सहयोग गर्ने भन्दै उहाँले हाम्रा ऋषिमुनीहरुले प्रतिपादन गरेको योग अहिले विश्वभर आवश्यकता महसुश भएको बताउनुभयो । उहाँले नगरका प्रत्येक वडाहरुमा योगहलको आवश्यकता खड्किएको बताउनुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी, नेपाल भारत मैत्री संघ पाल्पाका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठ र जिल्ला योग समिति पाल्पाका उपाध्यक्ष दामोदर भण्डारीले शुभकामना मन्तव्य राख्नु भएको थियो । रामपुर योग समितिका अध्यक्ष सुदिप गैरेले नगरको मुख्य बजार बेझाँडमा योगसाधकहरुको संख्या बढ्दै गएकाले थप पूर्वाधारको खाँचो रहेको बताउनुभयो ।
रामपुर ७ किसानबारी योगहलमा भएको कार्यक्रम रामपुर योग समितिका अध्यक्ष सुदिप गैरेको अध्यक्षतामा भएको थियो । रामपुर ७ का वडा अध्यक्ष एवं रामपुर योग समितिका उपाध्यक्ष दोवराज तिवारीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई रामपुर नगरपालिकाका प्रवक्ता एवं रामपुर १ का वडाअध्यक्ष कपिल बहादुर खाँडाले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन रामपुर आयुर्वेद अस्पतालका वरिष्ठ कविराज निरिक्षक चेवन प्रकाश पोखरेलले गर्नु भएको हो । विहानको योग पश्चात कार्यक्रम भएको थियो । तस्वीरहरु : सुर्य प्रसाद श्रेष्ठको फेसबुक मार्फत