आगामी नीति तथा कार्यक्रमको लागि रामपुर नगरपालिका द्धारा सुझाव संकलन

पाल्पा, रामपुर नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रमको लागि राजनैतिक दल तथा पत्रकारहरु संग सुझाव संकलन गरेको छ । नगरमा क्रियाशिल राजनैतिक दलका पदाधिकारी र पत्रकारहरु संग छलफल गरी आगामी आर्थिक वर्ष २०८०÷०८२ को नीति तथा कार्यक्रम निर्माणका लागि सुझाव संकलन गरेको हो ।

छलफलको सुरुवातमा रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरको वित्तिय अवस्थाको बारेमा जानकारी दिदै यस वर्षलाई आर्थिक वृद्धिदरको वर्षको रुपमा लिएको बताउनुभयो । आन्तरिक आम्दानी नहुँदा नगरका विकास निर्माणका कार्य प्रभावित भएको भन्दै बजेटका लागि नगरको आन्तरिक आम्दानी बढाउन तर्फ जोड दिने बताउनुभयो । उहाँले जनताको माग अनुसार बजेट विनियोजन गर्नका लागि स्थानीय तहको आन्तरिक स्रोत मजबुत हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । चालु आर्थिक वर्षमा ८१ करोड ९२ लाख ९५ हजार २० रुपैयाँको बजेट भए पनि यस वर्ष संघिय सरकार र प्रदेश सरकार बाट कम रकम आएकाले करिब ६८ करोडको हाराहारीमा नगरको बजेट आउने बताउनुभयो ।

कार्यक्रममा सहभागीले नगरको दिर्घकालिन विकास, पर्यटन, फोहोरमैला व्यवस्थापन, कृषि, स्वास्थ्य, शिक्षा, रोजगार तथा आन्तरिक आय वृद्धिका लागि राय व्यक्त गरेका थिए । नेपाली कांग्रेस रामपुर नगर सभापति नेत्र प्रसाद भट्टराईले आन्तरिक आय वृद्धिका लागि राजस्वको दायरा बढाउन विज्ञहरु संग समन्वय गर्नु पर्ने बताउनुभयो । उहाँले नगरको बजार क्षेत्रलाई फुलैफुलको शहर र गाउँ क्षेत्रलाई हरियाली गाउँको रुपमा विकास गर्न, कालीगण्डकी क्षेत्रको मुख्य घाटहरुमा पिउने पानी र तहराको व्यवस्था गर्नु आवश्यक रहेको बताउनुभयो । नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मीले पनि आन्तरिक आयवृद्धिका लागि आर्थिक मन्दीलाई ध्यानमा राख्दै करको दायरा बढाए पनि दर न्यून राख्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका रामपुर नगर कमिटी अध्यक्ष यम बहादुर सुनारले खर्चमा मितव्यीता अपनाउन आग्रह गर्दै खडेरीको मारमा रहेका कृषकहरुलाई विशेष सम्बोधन गर्न आग्रह गर्नु भयो । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति अर्जुन श्रेष्ठ नगरको विकासलाई सहि दिशा तर्फ अघि बढाउन स्पष्ट धारणका साथ योजना अघि बढाउनु आवश्यक रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा रामपुरका अध्यक्ष राम प्रसाद गैरेले स्वास्थ्य सेवाको सहजताका लागि विपन्न परिवारलाई स्वास्थ्य विमामा समाहित गर्न आग्रह गर्नुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष सिर्जना घिमिरे, जिल्ला सदस्य दुर्गेश मल्ल, प्रेस युनियनका केन्द्रिय सदस्य शुसिला रेग्मी, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य रमा भण्डारी, प्रेस युनियन पाल्पाका सहसचिव इमान सिं राना र पृथ्वी टेलिभिजनका स्टेशन प्रबन्धक कृष्ण पौडेलले आन्तरिक आय वृद्धि, दिगो विकास, समावेशीता र सञ्चार सवलिकरणका विषयमाआफ्नो राय राखेका थिए । नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?