रामपुर २ मा असल दम्पत्ति, असल बुहारी संगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान

पाल्पा, रामपुर नगरपालिका वडा नं. २ ले वडा भित्रका असल दम्पत्ति, असल बुहारी संगै विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरेको छ । पछिल्लो समय श्रीमान–श्रीमति विचको सम्बन्ध, अभिभावक र सन्तान विचको बेमेल हुने घटना बढ्दै गैरहेको सन्दर्भमा आपसी मेलमिलाप तथा सन्तान र अभिभावक विचको सम्बन्ध सुमधुर बनाउनका लागि प्रेरित गर्न वडाले छनौट गरी असल दम्पती र बुहारीलाई सम्मान गरेको हो ।

साथै वडाले उत्कृष्ट योजना उपभोक्ता समितिका पदाधिकारी, ज्येष्ठ नागरिक, विशिष्ट योगदान दिने समाजसेवी, स्थानीय पन्जिकाधिकारी, निवर्तमान वडाका जनप्रतिनिधिलाई समेत सम्मान गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ का लागि नीति कार्यक्रम, वजेट तर्जुमा सम्बन्धी वडा सभाको अवसरमा वडाले दोसाला ओढाई सम्मान पत्र र छाता सहित सम्मान गरेको हो । उत्कृष्ट कार्य गर्ने योजना उपभोक्ता समिति तर्फ बोटेनिमारा देखि कृष्णादेवी सम्मको मोटरबाटो स्तरोन्नती उपभोक्ता समितिका अध्यक्ष तिलक बहादुर कुमाल, सचिव शिशिर कुमाल, असल दम्पत्ति तिलिङ डाँडा टोलका टुकबहादुर थापा र लेखमाया थापा, असल बुहारी कागतिडाँडा टोलका मथुरा घिमिरे, ज्येष्ठ नागरिक एवं समाजसेवी भुमबहादुर थापा, स्थानीय पन्जिकाधिकारी तारानाथ पोखरेल, निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, वडा सदस्यहरु भिमबहादुर खड्का, नुरबहादुर थापा, तेजकुमारी गैरे, नगर उपप्रमुख बालकुमारी थापालाई सम्मान गरेको थियो ।

रामपुर २ का वडाध्यक्ष कृष्ण बहादुर दर्जीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै समाजिक मुल्य र मान्यतालाई कायम गर्दै उदाहरण पेस गरेका असल दम्पती र बुहारी, उत्कृष्ट कार्यगरेका उपभोक्ता समिति तथा विशिष्ट योगदान दिनुभएका व्यक्तिहरुलाई छनौट गरी प्रोत्साहनका लागि सम्मान गरिएको बताउनुभयो । उहाँले टोल विकास समितिबाट छनौट भई आएका विभिन्न योजनाहरु सहभागीहरुलाई जानकारी गराउनुभएको थियो । वडाको प्राथमिकताको आधारमा टोल विकास समितिमार्फत योजना संकलन गरी ल्याइएको र सो योजनालाई क्रमिक रुपमा वडाको आवश्यकता अनुसार काम गर्दै जाने वडाध्यक्ष दर्जीले बताउनुभयो । उहाँले वडालाई मासुमा आत्मनिर्भर बनाउन आवश्यक कार्यक्रम सञ्चालन गर्ने, पर्यटन पूर्वाधार निर्माण संगै कृषि, शिक्षा, स्वास्थ्यका योजनालाई अघि बढाउने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान वडाध्यक्ष ताराबहादुर थापा, नेपाली कांग्रेस वडा सभापति देवबहादुर राना, नेकपा एमाले प्रतिनिधि पदमबहादुर कुमाल, स्थानीय पन्जिकाधिकारी तारानाथ पोखरेल, सरस्वती माविका प्रधानाध्यापक रामचन्द्र पोखरेल, दुर्गादेवी सामाजिक उद्यमी महिला समूह अध्यक्ष विजु घिमिरे, नेपाल पत्रकार महासंघ पाल्पाका जिल्ला सदस्य दुर्गेश मल्ल लगायतले वडाका विकास निर्माणका सन्दर्भमा आफ्ना भनाई सहित थालनी गरेका कार्यको प्रशंसा गर्नु भएको थियो । वडा कार्यालय परिसर खयरबोटमा भएको कार्यक्रम वडाध्यक्ष कृष्ण बहादुर दर्जीको अध्यक्षता, न्यायपालिका सदस्य तथा वडा सदस्य तेजकुमारी गैरेले स्वागत र वडा सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?