धनबहादुर ठाडा
पाल्पा, निस्दी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६४ करोड ७ लाख ९४ हजार ४ सय ५१ रुपैयाँ बराबरको बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । पालिकाले १३ औं गाउँ सभा मार्फत बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
शुक्रबार सम्पन्न सभामा गाउँपालिका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले संघ समानीकरण तर्फको ४९ करोड ५० लाख ६७ हजार ७ सय , प्रदेश समानीकरणको ३ करोड ६ लाख २६ हजार ७ सय ५१ र पालिकाको आन्तरिक आम्दानी एवं अल्यातर्फको ११ करोड ५१ लाख गरी कुल ६४ करोड ७ लाख ९४ हजार ४ सय ५१ रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभएको हो । गाउँसभामा गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले यस वर्ष निस्दीले कृषि तथा पशु उद्यमशिलता, शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका क्षेत्रलाई विशेष जोड दिने बताउनुभयो । नीति तथा कार्यक्रममा युवा उद्यमशिलता, युवा स्वरोजगार, विपद् तथा प्रकोप नियन्त्रण एवं व्यवस्थापन गरिने, मगर भाषा , साहित्य , कला , संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्ने उल्लेख गरेको छ । नीति तथा कार्यक्रममा गरिवी निवारण , पूर्ण सरसफाइ तथा लैंगिक तथा समावेशी, महिला बालबालिका तथा पिछडिएको क्षेत्रका समुदायलाई प्रत्यक्ष लाभ पुर्याउने खालको कार्यक्रम ल्याएको छ ।
आगामी आर्थिक वर्षमा निस्दीको स्थानीय स्रोत साधन र सीपको उच्चतम प्रयोग गरी रोजगारी सिर्जना गर्ने, दिगो विकास, वातावरणीय संरक्षण तथा सम्बद्र्धन गर्न सघाउ पुर्याउने, संस्थागत विकास तथा सुशासन गरिने उल्लेख छ । सभामा उपाध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८० ÷०८१ का लागि संस्थागत सेवा प्रवाह, सुशासन र प्रशासनिक तर्फ ८ करोड ७३ लाख, पालिका स्तरीय योजनाको लागि १ करोड ४३ लाख, बालमैत्री स्थानीय शासनतर्फ ३२ लाख, सामाजिक तथा शिक्षा क्षेत्रमा ३ करोड ५० लाख, खानेपानी तथा सरसफाईमा १५ लाख बजेट विनियोजन गरेको जानकारी दिनुभयो । निस्दीले आगामी वर्षको लागि कृषि, कृषि तथा पशु उद्यमशिलतातर्फ १ करोड ५० लाख, स्वास्थ्यतर्फ १ करोड ५० लाख, लैंगिक समानता तथा सामाजिक समावेशिकरण क्षेत्रमा १ करोड १७ लाख विनियोजन गर्नुभएको छ ।
गाउँसभाको विशेष अवसरमा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती बसन्तले सम्बोधन गर्नुहँदै जनताले सबैभन्दा धेरै विकासको अनुभव स्थानीय सरकारबाट प्राप्त गरिने बताउनुभएको थियो । उहाँले संघ र प्रदेश सरकारभन्दा स्थानीय सरकार आफैमा बलियो रहेकोले जनप्रतिनिधिहरु जनताको मन जित्नेगरी लाग्नुपर्ने बताउनुभयो । सभामा प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले यश क्षेत्रको विकास र प्रगतिको लागि आफ्नो महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो ।
गाउँ सभाले नीति तथा कार्यक्रमसंगै आर्थिक तथा विनियोजन विधेयक समेत पास गरेको प्रवक्ता मेख बहादुर सुनारीले बताउनुभएको छ ।