निस्दीमा १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पुगेर विवाह गर्ने महिलाहरु पुरस्कृत

पाल्पा, जिल्लाको निस्दी गाउँपालिकाले १२ कक्षा उत्तीर्ण गरी २० वर्ष पुगेर मात्र विवाह गर्ने महिलालाई पुरस्कृत गरेको छ । बालमैत्री पालिका घोषणाका लागि कार्यक्रम संञ्चालन गर्दै आएको गाउँपालिकाले बालविवाह न्यूनिकरणका लागि सचेतना जगाउन तथा महिलाहरुलाई शिक्षामा आकर्षित गर्न सोमबार प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गरेको हो ।

आर्थिक वर्ष २०७९ साउन १ देखि बैशाख ३१ गते सम्म निस्दी गाउँपालिका भित्र स्थायी बसोबास गरिरहेका कक्षा १२ उत्तीर्ण गरी २० वर्ष उमेर पुगेर विवाह गर्ने महिलाहरुलाई प्रोत्साहन पुरस्कार दिइएको पालिकाले जनाएको छ । यस अघि गाउँपालिकाले कार्यक्रममा सहभागीताका लागि आवश्यक शैक्षिक प्रमाण पत्र सहित सूचना आह्वान गरेको थियो । कार्यक्रममा सहभागीताका लागि गत जेठ ११ देखि १७ गते सम्म आवश्यक कागज पत्रहरु सहित निवेदन आह्वान गरेको थियो । प्रोत्साहन पुरस्कारका लागि नेपाली नागरिकताको प्रमाण पत्र, कक्षा १२ उत्तीर्ण गरेको शैक्षिक प्रमाण पत्र, विवाह दर्ता प्रमाण पत्रको प्रतिलिपि र बैंक खाता नं. निस्दी गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा र सम्बन्धित वडा मार्फत निवेदन पेश गर्न अनुरोध गरेको थियो । सोही सूचनाको आधारमा निवेदन दिईएका महिलाहरुलाई पुरस्कृत गरेको हो ।

https://katuwalkhabar.com/2023/06/01/13265/                                                    महिलाहरुलाई सम्मान गर्दै गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले महिलाहरुलाई उच्च शिक्षा ग्रहण गर्न उत्प्रेरित गर्न तथा बालविवाह न्यूनिकरणमा सचेतना जगाउन कार्यक्रमले सहयोग गर्ने बताउनु भएको थियो । गाउँपालिकामा बालविवाहको दर बढिरहेका अवस्थामा सम्मान कार्यक्रमले न्यूनिकरणमा थप प्रोत्साहन गर्ने बताउनुभयो ।

गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले बालमैत्री पालिका घोषणाको लागि अभियान सञ्चालन भैरहेको सन्दर्भमा बालविवाह न्यूनिकरण संगै महिलाहरुलाई शिक्षा तर्फ प्रेरित गर्न प्रोत्साहन पुरस्कार प्रदान गरेको जानकारी दिनुभयो । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण तर्फको महिला लक्ष्यित कार्यक्रमका लागि विनियोजित बजेट बाट कार्यक्रम गरिएको हो । प्रोत्साहन पुरस्कार बाट नगद सहित निस्दी गाउँपालिकाका ७ वटै वडाका २५ जना महिलाहरुलाई जनाही ८ हजार रुपैयाँ सहित सम्मान पत्रले सम्मान गरेको गाउँपालिका योजना प्रमुख तथा सूचना अधिकारी अर्जुन खनालले जानकारी दिनुभयो । निस्दीले महिलाहरुलाई उच्च शिक्षामा आकर्षित गर्न यस अघि निस्दी गाउँपालिकाले गाउँपालिका भित्रका स्नातकोत्तर उत्तीर्ण महिलाहरु प्रोत्सहान स्वरुप सम्मान गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?