पाल्पा, रामपुर नगरपालिकामा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजना अन्तर्गत सञ्चालन भएका गतिविधिको पत्रकार सहितको टोलीले निरीक्षण गरेको छ । रामपुर नगरपालिका तथा हेफर नेपालको आर्थिक सहयोग र बेस नेपालको सहजिकरणमा सञ्चालित परियोजनाले महिला, युवा तथा विपन्न परिवारमा पारेको प्रभावको विषय बुझ्नको लागि पत्रकारहरुको टोलीले निरिक्षण गरेको हो ।
टोलीले रामपुर नगरपालिका १० को तल्लो कुमाल गाउँ स्थित मनकामना स्वालम्बन महिला समुह, रामपुर १० कै स्वामी भञ्ज्याङ्ग स्थित सत्यवती स्वावलम्बन महिला समुहको बैठक तथा परियोजनाले महिला दिदी बहिनीहरुको जनजिविकामा ल्याएको परिवर्तनका विषयमा छलफल गरेको थियो । बैठकमा मनकामना स्वालम्बन महिला समुहका अध्यक्ष गंगा कुमालले परियोजना सञ्चालन भए संगै सामुहिक कार्यबाट महिलादिदी बहिनीहरु आयआर्जनमा लाग्न प्रेरणा मिलेको बताउनुभयो । बोल्न नसक्ने महिलाहरु आफ्ना आवाज व्यक्त गर्न, नियमित बचत गर्न तथा पशु पालनका लागि आवश्यक ज्ञान हासिल गरेर व्यवहारमा लागु गर्न सफल भएको जानकारी दिनुभयो ।
सत्यवती स्वालम्बन महिला समुहका अध्यक्ष सिर्जना वि.क.ले पशुपालनका लागि तालिम सहित प्राविधिक सहयोगले महिला दिदी बहिनीहरुलाई पशुपालन मार्फत थप स्वबलम्बी बन्न आकर्षित गरेको बताउनुभयो । बैठकमा सहभागी महिलाहरुले परियोजनाले उद्यमशिलता संगै व्यक्तित्व विकासमा ठूलो राहत मिलेको बताउँदै थप क्षमता विकासका कार्यक्रम आवश्यक रहेको बताएका छन् । उनीहरुले बाख्रा खोर निर्माणमा अनुदान, महिला सबैलाई समुहमा आवद्ध गर्नु पर्ने, परियोजनालाई निरन्तरता दिनु पर्ने बताएका थिए ।
विगतमा बाख्रा तथा कुखुरा पालन गर्दै आए पनि आवश्यक तालिम अभावमा उद्यमी बन्न नसके पनि परियोजना सञ्चालन संगै व्यवसायिक उद्यमी बन्न थप उत्प्रेरणा प्राप्त भएको बताएका थिए । साथै महिलाहरुले आफ्ना अनुभव समेत सुनाएका थिए । रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका संयोजक सन्जु परियारले बैठकको सहजिकरण गर्नु भएको थियो । टोलीमा नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल, राष्ट्रिय समाचार समितिका संवाददाता सुशिला रेग्मी, सबल न्यूज डटकमका सम्पादक सीता डोटेल, एभिन्यूज खबरका संवाददाता इमान सिं राना, सामुदायिक रेडियो रामपुरका शोभाकान्त पाठक, कटुवाल खबर डटकमका प्रकाश ज्ञावली, रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाका सामुदायिक सहजकर्ता निर्मला पौडेल, शुस्मा आले लगाएतको सहभागीता रहेको थियो ।
टोलीले युवा उद्यमी समुहले सञ्चालन गरेका व्यावसायिक पशु तथा कृषि फर्म, महिला स्वावलम्बन समुहका सदस्यहरुले परियोजना मार्फत निर्माण गरेका व्यवस्थित बाख्राको खोरको पनि निरिक्षण गरेको थियो । उनीहरुले वडा नं. १० होस्दीमा ज्ञान प्रसाद भण्डारीको भण्डारी कृषि तथा पशुपालन फर्म, याम बहादुर सारुको सारु बंगुर फर्म, रामपुर ८ स्थित कोल्टार स्वावलम्बन महिला समुहका सदस्य राधा सार्की, रामपुर ६ गैटारको कालिका महिला स्वावलम्बन समुहका सदस्ये विमला शाही, तालपोखरा महिला स्वावलम्बन समुहका सदस्य हरिमायाँ घर्ती र रामपुर नगरपालिका वडा नं. ७ भञ्ज्याङ्गबारी स्थित भिम बहादुर ढेंगाको मौलाकालिका बाख्रा फर्म र दिपेन थापाको बंगुर फर्म निरिक्षण गरेको हो ।