इमान सिं राना
पाल्पा, रामपुर नगरपालिका वडा नं. २ बटराका टिकामायाँ थापा २ वर्ष अघि सम्म परम्परागत रुपमै बाख्रा पालन गर्दै आउनु भएको थियो । विगतमा बाख्रापालनको लागि आवश्यक आधारभूत ज्ञान नहुँदा उहाँलाई समयसमयमा जुका माटेको औषधी खुवाउनु पर्छ भन्ने सम्म पनि ज्ञान थिएन ।
उहाँले अहिले नियमित रुपमा बाख्रालाई औषधी खुवाउँदै आउनु भएको छ । खोरको सरसफाई संगै बाख्राको हेरचाहमा उहाँको दैनिकी बित्ने गरेको छ । निर्वाहमुखी कृषि र पशुपालनमा रमाउँदै आउनु भएका उहाँ अब व्यवसायिक रुपमै बाख्रापालन गर्ने गरी लाग्नु भएको छ । ५ वर्ष अघि सम्म ५ वटा बाख्रा बाट सुरु गर्नुभएको उहाँ संग अहिले ११ वटा माउ सहित अहिले २० बाख्रा पुगिसकेको छ । बाख्रा पालन बाटै वार्षिक रुपमा १ देखि डेढ लाख सम्म आम्दानी लिदै आउनु भएको उहाँ गाउँका २४ जना महिला दिदीबहिनीहरुलाई पनि एकै साथ मै लिएर व्यावसायीक बाख्रा पालनमा होमिनु भएको छ । अहिले उहाँको गाउँमा महिलादिदी बहिनीहरुले कम्तीमा १० वटा देखि ४० वटा सम्म बाख्रा पाल्दै आएका छन् ।
चुल्होचौकामा सिमित दिदीबहिनीहरु मासिक संगै लगानीको प्रयास गर्दै आएका छन् । रामपुर नगरपालिका पाल्पा तथा हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग र पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजना मार्फत गाउँमा चौतलादेवी स्वालम्बन महिला समुह गठन भए संगै उनीहरु थप सक्रिय भएका हुन् । परियोजनाले प्रदान गरेको आधारशिला तालिम र पशु स्रोत उचित व्यवस्थापन तालिमले उनीहरुलाई सक्रिय बनाएको हो । समुहका संयोजक समेत रहनु भएका थापाले परियोजनाले आफ्ना कुरा ढुक्क संग राख्न र व्यवसाय बाटै आत्मनिर्भर बन्न उत्प्ररेरणा प्रदान गरेको बताउनुभयो । उहाँले भन्नु भयो, ‘विगतमा हामी ढुक्कले बोल्न सक्दैनथ्यौं । अहिले बोल्न सक्ने भएका छौं । पशुपालनको लागि पनि परियोजनाले तालिम प्रदान गरेर सहयोग गर्दा व्यवसायिक रुप मै अघि बढ्न प्रेरणा जागेको छ ।’ बाख्रा पालन बाट प्राप्त आम्दानीले परेको समयमा गर्जो टार्न तथा बाबुनानीको पढाईमा समेत सहयोग गरेको बताउनुभयो । खोर व्यवस्थापन तालिम लिनु भएका थापाले विगतमा बाँसको सामान्य खोरमा बाख्रा पाल्दै आएकोमो यस वर्ष देखि व्यवस्थित खोर निर्माण गरी बाख्रा पाल्न थाल्नु भएको छ ।
यता रामपुर नगरपालिका–१० तल्लो कुमाल गाउँका गंगादेवी कुमालको जीवनयापनमा पनि परियोजनाले ठूलो परिवर्तन ल्याई दिएको छ । मनकामना स्वालम्बन महिला समुहमा आवद्ध गंगादेवीले सुरुवातमा १ वटा माउ बाख्रा पाल्दै आएकोमा बाख्रापालन तालिम पश्चात २ वटा माउ थप्नु भएको छ । परियोजना बाट तालिम तथा प्रविधिक सहयोग प्राप्त हुँदा थप उत्साह मिलेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीलाई पहिला बाख्रा पालनको लागि ज्ञान थिएन । परियोजना बाट तालिम संगै प्राविधिक सहयोग प्राप्त भएपछि थप सहज भएको छ ।” श्रीमान धनबहादुर कुमाल वैदेशिक रोजगारी बाट फर्किएर पुन जाने तयारीमा रहे पनि गंगादेवी भने बाख्राको नयाँखोर निर्माण गरी व्यवस्थित बनाउने प्रयासमा हनुहुन्छ । बाख्रापालनलाई व्यवस्थित गर्दै ५० वटा सम्म बाख्रा पुर्याउने उहाको लक्ष्य छ ।
टिकामायाँ र गंगादेवी त एक उदाहरणीय पात्र मात्र हुनुहुन्छ । उहाँहरु जस्तै रामपुर नगरका १० वटै वडामा महिला दिदी बहिनीहरु व्यावसायिक बाख्रापालन तथा तरकारी खेतीमा सक्रिय रहँदै आउनु भएको छ । रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाले महिला दिदीबहिनीहरुलाई समुहमा आवद्ध गरी उद्यमी बनाउन प्रेरित गरेको हो । परियोजनाले निम्न वर्गका परिवार संगै महिला तथा युवाहरुलाई आधारशिला, पशु स्रोत व्यवस्थापन तालिम सहित प्राविधिक सहयोग गर्दै आईरहेको छ । परियोजनाले छरिएर रहेका महिला दिदीबहिनी तथा युवा उद्यमीहरुलाई एकितृत गरी सामुहिक भावनाको विकास गरी उद्यमी बन्न प्रेरित गर्दै आएको छ । रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाका संयोजक सञ्जु परियारका अनुसार यस वर्ष समुहमा आवद्ध दिदी बहिनीहरुको लागि बाख्रा खोर सुधार कार्यक्रम अन्तर्गत २० हजार अनुदान प्रदान गरिएको थियो ।
सो कार्यक्रममा नगरका ७७ जनाले बाख्रापलानको लागि आवश्यक उपयुक्त खोर निर्माण गरेका थिए । परियोजनाले तालिम तथा प्राविधिक सहयोग सहित नगर भित्रका १० वडामा १० मूल समुह, १० युवा उद्यमी समुह र ३१ वटा उपहार समुह गरि ५१ समुह गठन गरेको थियो । परियोजना मार्फत ४ सय २१ वटा बाख्रा माउ वितरण, उपहार प्रदान विधि अनुसार दिदी समुहले बहिनी समुहलाई ३६ वटा माउ बाख्रा प्रदान गरेको छ । साथै नश्ल सुधारका लागि ५१ समुह मध्ये ४० समुहलाई ४१ वटा उन्नतजातको विऊ बोका प्रदान गरेको परियोजनाले जनाएको छ ।