पहिरो खसेपछि रामपुर पिपलडाँडा सडकखण्ड अवरुद्ध, सिद्धार्थ राजमार्ग सहित अन्य सडकमा पनि पहिरो

पाल्पा, कालीगण्डकी करिडोर अन्तर्गत रामपुर पिपल डाँडा सडकखण्ड अवरुद्ध भएको छ । गयराती देखि परेको अविरल वर्षाद संगै रम्भा गाउँपालिका वडा २ र वडा नं. ३ को सिमानामा रहेको सहर्दी खोला पुल नजिकै पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।पानी परिरहेकाले विहान पख देखि खस्न सुरु भएको पहिरो झर्ने क्रम अझै नरोकिएको हाम्रा संवाददाता प्रकाश ज्ञावलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो खसिरहेकाले सडक खुलाउनका लागि समय लाग्ने देखिन्छ । अहिले उज्यालो भए संगै सडकमा यात्रु वाहक तथा मालबाहक गाडीहरुको लाम लागेको छ ।

यता सिद्धार्थ राजमार्ग अन्तर्गत आर्यभञ्ज्याङ्ग राम्दी खण्ड पनि अवरुद्ध भएको छ । माथागढी गाउँपालिका १ धैरेनीमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । त्यस्तै तानसेन रिडी सडक खण्ड पनि अवरुद्ध भएको छ । तानसेन नगरपालिका ५ ढुङ्गाखानीमा पहिरो खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । पाल्पामा सहित अधिकांश भुभागमा यतिवेला पानी परिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?