पाल्पा, आज असार १५, राष्ट्रिय धान दिवस भव्यताका रुपमा मनाइँदैछ । यस वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ यस वर्ष २० औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइदैछ ।
जिल्लाको तानसेन नगरपालिका ९ अम्लिहानमा रोपाई महोत्सव गरी आज राष्ट्रिय धान दिवस मनाईदै छ । कृषि ज्ञान केन्द्र पाल्पाले तानसेन नगरपालिका र मदनपोखरा बहुप्राविधि शिक्षालयको संयुक्त आयोजनामा कार्यक्रम गरी धान दिवस मनाउने लागेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले जानकारी दिनुभयो । सरकारले २०६१ साल मङ्सिर २९ गते गरेको निर्णयअनुसार २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । खडेरीका कारण जिल्लामा यस वर्ष अहिले सम्म ३० प्रतिशत क्षेत्रमा मात्र रोपाई सम्पन्न भएको बताउनुभयो । जिल्लामा केही दिन यता मात्र मनसुन सक्रिय भएको छ ।
कृषि ज्ञानकेन्द्र तानसेनका अनुसार पाल्पाको ८ हजार २ सय १० हेक्टरमा वर्षेधान खेती र चैते धान खेती ६ सय २० हेक्टरमा गरी ८ हजार ८ सय ३० हेक्टरमा धान उत्पादन हुँदै आएको छ । जिल्लामा वर्षेधान ३२ हजार १९ मेट्रिकटन र चैते धान २ हजार ४ सय १८ मेट्रिकटन उत्पादन हुदै आएको छ । जिल्लाको रामपुर, माडी, पूर्वखोला, हुँगी, अर्गली लगाएतका स्थानमा धानखेती हुने गर्दछ ।
यता कृषि प्रधान देश नेपालमा परम्परादेखि नै असार १५ लाई दही–चिउरा खाएर मनाइने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रुपमा रुपमा यस दिन अधिकांस स्थानमा रोपाई गरि धान दिवस मनाउने गरिन्छ । कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरि यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरि दहीचिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रुपमा समेत लिने गरिन्छ ।
वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । आजका दिन असारे भाकामा गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। युवा–युवती, रोपाहारले खेतमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन पनि लिने गर्छन्। असारमा एक पटक हिलोमा पस्नुपर्ने मान्यता नेपाली समाजमा रहेको छ ।