पाल्पा, दुई दिन यताको अविरल वर्षादले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर संगै विभिन्न स्थानका सडकखण्ड अवरुद्ध भएको छ । पहिरो तथा लेदोले रोकिएका सडक शुक्रबार खुलाईए पनि शनिबार बिहानैदेखि अवरुद्ध छ ।
आर्यभन्ज्याङ–राम्दी सडकको माथागढी गाउँपालिका वडा नं. १ धैरेनी, बगनासकाली ४ सेरा, रम्भा गाउँपालिका–३, लसुने नजिकै पनि पहिरो खसेको छ । तिनाउँ क्षेत्रमा खसेको पहिरो हटाए पनि आर्यभन्ज्याङ–राम्दी खण्डको हटाउन बाँकी रहेकाले सडक सुचारु हुन सकेको छैन । धैरेनीमा शुक्रबार पनि लेदो सहितको भल हटाए पछि मात्र यातायात सुरु भएको थियो ।
तानसेन–तम्घास खण्डमा खसेको पहिरो हटाए पछि एकतर्फ रुपमा सडक सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्लले जानकारी दिनुभयो । सो सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।
कालीगण्डकी करिडोर अन्तर्गत रामपुर पिपलडाँडा खण्ड पनि अवरुद्ध रहेको छ । रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुल नजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध रहेको छ । हिउँदमा समेत सुख्खा पहिरो खसेर अवरुद्ध हुदै आएको सो स्थानमा शुक्रबार पनि पहिरो खसेको थियो । अहिले ठूलो ढुङ्गा खसे संगै सडक बन्द अवस्थामा रहेको प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खस्ने क्रम रोकिएको छैन । कालीगण्डकी करिडोर कै रामपुर नगरपालिका १ को स्याउली बजार र साँखर्दी खोलाको विच भागमा पहिरो खसेपछि सडक थप्प रहेको स्थानीय दानस मल्लले जानकारी दिनुभयो ।
सडक डिभिजन कार्यालय पाल्पाले सडक सुचारु गर्न प्रयास गरिरहेको जनाएको छ । आर्यभन्ज्याङ–जब्गादी–रामपुर सडकको विभिन्न स्थानमा खसेको पहिरो विहान हटाईएको थियो । सेफद, जब्गादी, सिलुवा, बेलडाँडा लगायतका स्थानमा पहिरो खसेको थियो । रामपुर जाने सडक अन्तर्गत निस्दी गाउँपालिका–५, ढुंगानावेंसी नजिकैसमेत पहिरो खसेर शुक्रबारदेखि नै सडक अवरुद्ध भएको छ ।
तानसेन–रानीमहल सडक खण्ड पनि अवरुद्ध छ ।सडकहरु अवरुद्ध हुँदा सिदार्थ राजमार्ग र कालीगण्डकी करिडोर भएर पाल्पाबाट अन्यत्र जिल्लाका लागि छुटेका र तराईतर्फ जाँदै गरेकाहरु सडकमै अलपत्र परेका छन् । सडक अवरुद्ध हुँदा सवारीसाधन बीचबाटोमै अलपत्र परेका छन् । पानी परिरहेकाले सडकमाथिबाट पहिरो खस्न सक्ने जोखिम कायम नै रहेको छ । जिल्लाका अधिकांश ग्रामीण सडकहरु पनि ठाउँठाउँमा पहिरो खसरे अवरुद्ध रहेको छ ।