पहिरो, लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

पाल्पा, अविरल वर्षाद संगै पाल्पाको सडक खण्डहरु पुनः अवरुद्ध भएको छ । वर्षादले सिद्धार्थ राजमार्ग, कालीगण्डकी करिडोर अवरुद्ध रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

कालीगण्डकी सडक खण्डको रम्भा गाउँपालिका २ र ३ को सिमाना रहेको सहदी खोलामा मंगलबार विहान पख देखि सडक अवरुद्ध रहेको छ । सोमबार दिउँसो खसेको पहिरो हटाए पनि सो स्थानमा पुन पहिरो गएको हो । पहिरो हटाउन सो स्थानमा स्काभेटर तयारी अवस्थामा रहे पनि वर्षाद भैरहेको र पहिरो खस्ने क्रम जारी रहेकाले समस्या भएका हुँगी प्रहरी चौकीले जनाएको छ । यस्तै करिडोर अन्तर्गत रामपुर १ को साँखर्दी खोला र स्याउली बजार विचको खण्ड अझै बन्द अवस्थामा रहेको छ ।

यता सडकको माथिल्लो भागबाट खसेको लेदो र गेग्रानले सिद्धार्थ राजमार्ग मंगलबार बिहानैदेखि अवरुद्ध भएको छ । राजमार्गको माथिल्लो भागमा स्थानीय तहले जथाभावी सडक स्तरोन्नति गर्दा फालेको गेग्रान र लेदो बगेर माथागढी गाउँपालिका–१, चिदीपानी धैरेनीमा लेदोहितको पहिरो खस्दा सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण गेग्रानसहितको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख दामोदर मल्ल बताउनुभयो । आर्यभन्ज्याङ–राम्दी सडकको बगनासकाली गाउँपालिका–४, सेरामा पनि माथिल्लो भागबाट गेग्रान र लेदो हितको पहिरो खसेर यात्रुले सास्ती खेप्नु परेको छ ।

कालीगण्डकी करिडोर निर्माणका क्रममा जथाभावी फालेका गेग्रानले तल्लो भागमा पर्ने सिद्धार्थ राजमार्गको राम्दी नजिकै सेरामा माथिल्लो भागबाट बगेर आएको लेदोका कारण पानी पर्नासाथ समस्या हुने गरेको छ । मंगलबार विहान तिनाउ–३, भूतखोलामा रुख ढलेर अवरुद्ध भएको सडक सुचारु भएको मल्लले जानकारी दिनुभयो ।
तानसेन–तम्घास खण्ड पनि पहिरोका कारण साना गाडीहरु मात्र सञ्चालनमा रहेको छ । सडक पूर्ण रुपमा खुलाउने प्रयास भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?