रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको समिक्षा, समापन र हस्तान्तरण कार्यक्रम सम्पन्न


पाल्पा, रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनाको प्रगति समिक्षा, सामाजिक परीक्षण तथा परियोजनाको समापन र हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सहजिकरणमा रामपुर नगरपालिकामा २७ महिना सम्म सञ्चालनमा रहेको परियोजनाको विहिबार समिक्षा संगै हस्तान्तरण गरिएको हो ।

परियोजना मार्फत रामपुर नगरपालिका भित्र भएका गतिविधि र प्रगतिको बारेमा जानकारी दिईएको थियो । रामपुर कृषि तथा पशु उद्यमशिलता परियोजनाले सुरु देखि गरेको कामका बारेमा संयोजक सन्जु परियारले परियोजनाले सञ्चालन गरेका गतिविधि, लाभान्वित परिवारको बारेमा जानकारी गराउनुभएको थियो । हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डाक्टर लेखनाथ अधिकारी र हेफर प्रोजेक्ट नेपालका कार्यक्रम शोभाखर न्यौपानेले परियोजना सञ्चालन पश्चात प्राप्त भएका उपलब्धीको विषयमा प्रकाश पार्दै साझेदारीमा परियोजनालाई निरन्तरता दिन हेफर प्रोजेक्ट सदा तप्पर रहेको बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले परियोजनाले कृषि तथा पशुपालनमा देखिएको उपलब्धीको प्रसंशा गर्दै केही परिमार्जन र सुधार गरी परियोजना निरन्तरता दिने पक्षमा नगरपालिका रहेको बताउनुभयो । समुहमार्फत केही गर्छु भन्ने आशा र ईच्छा बोकेका नागरिकलाई परियोजनाले उत्साह संगै ठूलो सहयोग गरेको बताउनुभयो । साना कृषक तथा उद्यमीहरुलाई व्यवसायिक रुपमा अघि बढ्न महत्वपूर्ण साथ दिएको उल्लेख गर्नुभयो । अनुदान देखिने र समाजमा पहिचान दिने गरि कार्यान्वयन गरेर काम गरियो भने यसले समाजमा सकारात्मक प्रभाव पर्ने बताउनुहँुदै उहाँले यस परियोजनाबाट धेरै स्थानीय लाभान्वित भएको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले हेफर संगको साझेदारीमा भएको परियोजनाले महिला सशक्तिकरण तथा आर्थिक स्तरवृद्धिमा सहयोग गरेको बताउनुभयो । परियोजना अगाडि बढाउने कि नबढाउने भन्ने विषयमा नगरपालिकाले छलफल गर्ने बताउनुभयो । परियोजना रामपुरमा संचालनमा आएपछि व्यावसायिक बाख्रापालनमा लागेको र समुहमा आबद्द महिलाहरुको क्षमता विकास, नेतृत्व विकास भएको उपप्रमुख थापाले बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले कार्यक्रमको निरन्तरता आवश्यक रहेको हुँदा आगामि दिनमा कार्यक्रमका गतिविधि संचालन कसरी गर्ने भन्ने विषयमा योजना बनाएर काम गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक तथा कार्यपालिका सदस्य दुर्गादेवि भण्डारी गौतमले परियोजना सफल रुपमा सम्पन्न भएको बताउँदै सबैलाई समेट्ने गरी अघि बढ्नु पर्ने बताउनुभयो । रामपुर नगरपालिका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले पशुपालन संगै कृषि क्षेत्रमा पनि जोड दिनु आवश्यक रहेको बताउनुभयो । उहाँले उत्पादकत्व वृद्धिका लागि थप रणनीति बनाउनु आवश्यक रहेको बताउनुभयो । पशु शाखा प्रमुख तुल्सिराम काफ्लेले समुहगत कार्य संगै साना तथा व्यवसायिक किसान सम्म परियोजना पुग्नु आवश्यक रहेको बताउनुभयो । परियोजनाको सामजिक परीक्षणको जिम्मा पाएको सीताकुण्ड मिडिया प्रा.लि.का अध्यक्ष दुर्गेश मल्लले परियोजनाको उपलब्धी, लाभान्वितहरुको अपेक्षा तथा सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । बेस नेपालका कार्यकारी निर्देशक शालिकराम पाण्डेले परियोजनाले आवश्यक संरचना तयार पारेको र अब यसलाई नतिजामुखी बनाउने तर्फ केन्द्रित हुने समय आएको बताउनुभयो ।

नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम बेस नेपालका कार्यकारी निर्देशक पाण्डेको स्वागत र परियोजना संयोजक सन्जु परियारको सञ्चालनमा भएको हो । रामपुरमा २०७८ वैशाख ३० गते सम्झौता भई कार्यक्रम संचालन गरिएको हो । रामपुर नगरपालिकाको ७५% र हेफर प्रोजेक्ट नेपालको २५% रकम साझेदारीमा संचालित परियोजनाले यस अवधिभर ४५७ माउ बाख्रा, ५७ वटा बोका, घाँसको बीउ, जुकामाटेको औषधि वितरण, खोर निर्माणको लागि अनुदान तथा विभिन्न तालिम मुल समूह, उपहार समुह र युवा समुहलाइ प्रदान गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?