सरकारले भ्रष्टाचारको गहिरो छानविन गर्नु पर्छ : पूर्व प्रधानमन्त्री नेपाल

पाल्पा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले सरकारले मुलुकमा भैरहेको भ्रष्टाचारको गहिरो छानविन गर्नु पर्ने बताउनु भएको छ । अहिले विभिन्न प्रकरणकुरा आईरहेको सन्दर्भमा छानविन गरी संलग्नहरुले दण्ड पाउनै पर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाको आयोजनामा तानसेनमा भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपालले भन्नुभयो, “अहिले विभिन्न प्रकरणको कुराहरु आइरहेको छ । भ्रष्टाचारको प्रकरणका कुराहरु आईरहेको छ । सरकारले छानविन अघि बढाईरहेको छ । सरकारले जे जति विकृति भैरहेको छ । त्यसमा गहिरो छानविन गर्नै पर्छ । जो सुकै व्यक्ति किन नहोस् उसले भ्रष्टाचार गरेको छ भने ओहोदाको दुरुपयोग गरेको छ भने त्यसले दण्ड पाउनै पर्छ ।”

नाम आउने बित्तिकै आफुले बदमासी गरेको छैन भने आत्तिन पनि कुनै आवश्यक नभएको बताउनुभयो । ललिता निवास प्रकरणमा आफ्नो नाम जोडिएको प्रति स्पष्ट पार्दै नेपालले भन्नुभयो, “कसै कसैले मेरो नाम पनि मुछेको छ । स्वभाविक हो । मेरो पालामा भएका सन्दर्भमा मेरो नाम आउन सक्दछ । कृष्ण प्रसाद भट्टराईको पालामा भएको हुनाले कृष्ण प्रसाद भट्टराईको नाम आउन सक्दछ । गिरिजा प्रसाद कोईराला, शेर बहादुर देउवाको पालामा भएको हुनाले उहाँको नाम आउन सक्दछ । त्यस्तै केपी ओलीको पालामा भएको हुनाले उहाँको नाम आउन सक्दछ । बाबुराम भट्टराईको पालामा भएकाले उहाँको नाम आउन सक्दछ । पुष्पकमल दहालको पालामा भएकाले उहाँको नाम उन सक्दछ । नाम आउने बित्तिकै आफुले बदमासी गरेको छैन भने आत्तिनु पर्ने कुनै आवश्यक छैन ।”

आफुले सरकारी जग्गा र अन्य प्रकारका जग्गा कानुन सम्मत ढंगले छुट्याएर मात्र काम अघि बढाउनु भन्ने आफ्नो निर्णयमा लेखिएको बताउनुभयो । “मेरो निर्णयमा लेखिएको यही छ । त्यही निर्णयको विपरित कसैले सरकारी जग्गालाई अन्य जग्गा भनेर कागज तयार गरेर पाल्पा मालपोत कार्यालय बाट आउँदैछ भने गरेको भने प्रधानमन्त्री जान्छ, पाल्पाको मलपोत कार्यालय हेर्न ? ” उहाँले प्रश्न गर्नुभयो ।

देशभर सरकारी जग्गाको हिनामिना भएको त्यसको छानविन हुनु पर्ने बताउनुभयो । “नेपाल ट्रष्ट, सरकारी लगाएतका जतिपनि जग्गा हिनामिना भएका छन् । त्यसैगरी ठूलाठूला फ्रडहरु भएका छन् सबैको छानविन गर्नु पर्छ । त्यस पछि मान्छेहरु बल्ल डराउने छन् ।” उहाँले भन्नुभयो । स्वच्छ र भ्रष्टलाई एउटै घानमा राख्न नहुने उहाँले जोड दिनुभयो । साथै सिष्टममा त्रुटी छ भने सुधार गर्न तर्फ लाग्नु पर्ने बताउनुभयो ।

फरक प्रसंगमा नेपालले सरकारको स्थायित्वका लागि छलफल अघि बढि रहेको बताउनुभयो । संघियताको मर्मअनुसमर काम अघि बढाउन केन्द्र सरकारले विशेष ध्यान दिनु पर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?