प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत निस्दीमा अदुवा तथा बेसार जोन कार्यक्रमको अनुगमन

पाल्पा, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पा अन्तर्गत सञ्चालन भएको अदुवा तथा बेसार जोन कार्यक्रम तथा परियोजनाले सञ्चालन गरेका गतिविधिहरुको शनिबार अनुगमन गरिएको छ । पाल्पाको निस्दी, रामपुर, पूर्वखोला र बगनासकालीमा सञ्चालन भएको कार्यक्रम अन्तर्गत परियोजनाको सहयोगमा सञ्चालन भएका गतिविधिहरुको जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिको टोलीले स्थलगत अनुगमन गरेको हो ।

गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले सञ्चालन गरेको अदुवा प्रशोधन केन्द्र र जनता माध्यमिक विद्यालय निस्दी ५ ढुङ्गानाबेसीको स्थायी टनेल तथा च्याउ घरको अनुगमन गरेको हो । परियोजनाले गत वर्ष र चालु आर्थिक वर्षमा सहकारीलाई अदुवा प्रशोधन केन्द्रको लागि अदुवा धुने, काट्ने तथा पखाल्ने मेसिन प्रदान गरेको थियो । साथै परियोजना इकाईले प्राविधिक शिक्षालयको सहकार्यमा व्यवसायिक कृषि उत्पादन कार्यक्रम मार्फत नर्सरी, च्याउ घर र तरकारी खेतीको लागि स्थायी टनेल निर्माणमा सहयोग गरेको थियो । जिल्ला परियोजना समन्वय तथा अनुगमन समितिका संयोजक टंकनाथ खनाल नेतृत्वको टोलीले स्थलगत अनुगमन गरी सुझाव संकलन सहित आफ्नो राय प्रस्तुत गरेका थिए । अनुगमन पश्चात छलफलमा बोल्दै जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले आम किसानलाई समेट्ने गरी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउँनुभयो । उहाँले अदुवा संगै बेसार खेतीमा थप केन्द्रित हुन सके कृषकलाई बजारको समस्या नहुने बताउनुभयो । उहाँले अदुवा बेसार संगै सुन्तला जात फलफूलमा अनुसन्धान आवश्यक रहेको उल्लेख गर्नुभयो । खनालले प्रविधिको प्रयोगमा थप लगानी गर्नु आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सान्वय समितिका उपाध्यक्ष काशिका गैरेले विद्यार्थीहरुको लागि कमाउँदै सिक्दै भन्ने उद्देश्यका साथ सञ्चालनमा रहेको कार्यक्रमलाई व्ययवस्थित बनाएर अघि बढ्न सके थप प्रभावकारी हुने बताउनुभयो । रामपुर नगरपालिकाका प्रमुुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले अदुवाको लागि प्राविधिक सहयोग संगै बजारिकरण र ब्रण्डिङ्गमा कृषकलाई सहयोग गर्नु पर्ने धारणा राख्नुभयो । जिल्ला समन्वय अधिकृत जनार्दन अधिकारी, जिल्ला प्रशासन कार्यालय पाल्पाका अधिकृत यज्ञश्वर पन्थी, भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रमुख दुर्गा खनाल, तरकारी जोन सञ्चालन समितिका संयोजक वेद प्रसाद सुवेदी, अदुवा बेसार जोन सञ्चालन समितिका संयोजक हेम बहादुर खाम्चा, सुन्तलाजात जोन सञ्चालन समितिका प्रतिनिधि कृष्ण कुँवर, सुन्तलाजात फलफूल विकास केन्द्रका वागवानी अधिकृत जोगेन्द्र कान्दु लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । जोन स१चालन समितिका संयोजक तथा प्रतिनिधिहरुले जोन क्षेत्रमा सञ्चालन भएका गतिविधि, देखिएका प्रभावका विषयमा आफ्नो अनुभव राख्नु भएको थियो ।

कार्यक्रममा गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाका व्यवस्थापक दिलमायाँ सारुले निस्दी ५ मा उत्पादन भएको अदुवा आर्गानिक भएको प्रमाणित गरेर प्रशोधित अदुवा जर्मन सम्म पठाईएको जानकारी दिनुभयो । सहकारीले यस वर्ष ४५ हजार ९ सय ५६ केजी अदुवा खरिद गरी सो मध्ये ८ सय ५ केजी प्रसोधन गरेर र अन्य लाई विउ तथा अन्य माध्यम बाट विक्री गरिएको जानकारी दिनुभयो । सहकारीका अध्यक्ष अम मायाँ मश्राङ्गीले विद्युत आपूर्तिमा समस्या हुँदा प्रशोधनमा समस्या भएको बताउनुभयो । जनता माध्यमिक विद्यालयका वरिष्ठ प्रशिक्षक सुशिल भण्डारीले प्रयोगात्मक कार्यका लागि समस्या भएकोमा परियोजना बाट भएको कार्यले थप सहज हुने बताउनुभयो । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन एकाई पाल्पाका प्रमुख टुक बहादुर थापाले छलफल कार्यक्रमको सहजिकरण गर्नु भएको थियो । परियोजना सञ्चालन संगै दिगोपनाको लागि छलफल गर्दै एकाई अघि बढेको बताउनुभयो । उहाँले सिक्दै कमाउँदै कार्यको लागि परियोजनाले जनता माविमा १० लाखको ७५ प्रतिशत अनुदान प्रदान गरेको जानकारी दिनुभयो । अदुवा बेसार कार्यक्रमका लागि विउ, यान्त्रीकरण र प्रशोधनमा परियोजनाले सहयोग गरिरहेको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?