डिभिजन वन कार्यालय पाल्पा द्वारा रामपुर नगरपालिकालाई नर्सरी हस्तान्तरण

पाल्पा, डिभिजन वन कार्यालय पाल्पाले रामपुर नगरपालिकालाई विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको छ । डिभिजन वन कालार्यलय पाल्पाले सव डिभिजन वन कार्यालय रामपुर पाल्पाले तयार पारेको विरुवा सहितको नर्सरी मंगलबार रामपुर नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

वन कार्यालयले करिब ३ महिनाको अवधिमा तयार पारेको १४ प्रकारका ३२ हजार ६ सय ४० वटा विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो । वन कार्यालय पाल्पाको एक पालिका एक वन नर्सरी कार्यक्रम अन्तर्गत तयार पारिएको नर्सरी नगरपालिकालाई रेखदेख र वितरणको लागि जिम्मा दिईएको हो । नर्सरी हस्तान्तरण गर्दै सव डिभिजन वन कार्यालय रामपुरका प्रमुख सुजनराज भण्डारीले वन कार्यालयको बार्षिक कार्यक्रम अन्तर्गत रामपुर नगरपालिका संग सम्झौता भई तयार पारिएको नर्सरी नगरपालिकालाई हस्तान्तरण गरेको बताउनुभयो । साथै अहिले तत्काल खयर जातको विरुवा वितरण गर्न योग्य रहेको भन्दै अन्य विरुवा आगामी बर्ष वितरण गर्न सकिने बताउनुभयो ।

नर्सरी ग्रहण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले तयारी अवस्थामा रहेका विरुवा नगरबासीलाई निःशुल्क रुपमा वितरण गरिने बताउनुभयो । साथै अहिले वितरण गर्न योग्य रहेका २ हजार ७ सय ५० वटा खयरका विरुवा नगरबासीको मागको आधारमा वितरण गर्ने बताउनुभएको छ । साथै वार्षिक कार्यक्रम अन्तर्गत नगरपालिकालाई नर्सरी तयारी गरि हस्तान्तरण गरेकोमा वन कार्यालयलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । रामपुर नगरपालिकाको भौतिक तथा जग्गा व्यवस्थापनमा सब डिभिजन वन कार्यालय रामपुरले छतिवन , तेजपत्ता, ज्याकेरेन्डा , गोल्डमोहर, राजवृक्ष, वेल, पंहेले फुल, कपुर, ओरी, अमला, खयर, क्यासिया, हरियो सिमल र धुपी गरि ३२ हजार ६ सय ४०  विरुवा सहितको नर्सरी हस्तान्तरण गरेको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?