पाल्पा, जिल्लाको रम्भा गाउँपालिका १ बाट उद्धार गरिएको लोपन्मुख अजिङ्गरलाई रामपुर नगरपालिका–६, प्याकलुक स्थित ज्याग्दी वृहत पार्कमा स्थानान्तरण गरिएको छ । ज्याग्दी सामुदायिक वन मार्फत सञ्चालनमा रहेको वृहत पार्कको मिनी चिडिया खानमा अजिङ्गरलाई सारिएको हो ।
गत असार २३ गते रम्भा–१ असेर्दीमा भेटिएको अजिङ्गर रामपुर सवडिभिजन वन कार्यालयको समन्वयमा सर्पको विषयमा अध्ययन गर्दै आउनु भएका रामपुर ८ का प्रशान्त अधिकारीको प्राविधिक सहयोगमा उद्धार गरिएको थियो । उद्धार गरी ज्याग्दी सामुदायिक वनको भवनमा राखिएको थियो । बुधबार एक कार्यक्रम गरी अधिकारीको सहयोगमा मिनी जुमा अजिङ्गर स्थानान्तरण गरिएको हो ।
कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले ज्याग्दी वृहत पार्क नगरको एक गहना भएको बताउँदै पार्कको व्यवस्थापनको लागि नगरले आवश्यक पहल गर्दै आएको बताउनुभयो । यस वर्ष पार्कको आवश्यक संरचना निर्माणको लागि संघीय सरकार बाट ३ करोड ८१ लख विनियोजन भएको जानकारी दिदैं पार्कको संरक्षण र व्यवस्थापनमा स्थानीयको भुमिका थप महत्वपूर्ण हुने स्पष्ट पार्नुभयो । थापाले एक बार ज्याग्दी पार्क अवधारणा अनुसार स्थानीयहरुलाई पार्क व्यवस्थापनमा जुट्न समेत अह्वान गर्नुभयो ।
रामपुर ६ का वडाध्यक्ष दिवाकर देवकोटाले जैविक विविधता कायम राख्दै पर्यटन प्रवद्र्धनमा पार्क निर्माणले महत्वपूर्ण सहयोग गर्ने बताउँदै वडा तथा नगरले विशेष ध्यान दिदै आएको बताउनुभयो । ज्याग्दी वृहत पार्कको अवधारणा ल्याउनु भएका रामपुर नगरपालिका ६ का निवर्तमान वडाध्यक्ष हुमनाथ न्यौपानेले मिनी चिडियाखानाको सुरुवात भएकोमा खुशी व्यक्त गर्दै वृहत पार्कमा अवधारणा अनुसार कार्यथालनी भएको बताउनुभयो । पार्कको लागि उपभोक्ताहरुले दिएको योगदानको प्रशंसा गर्दै थप जिम्मेवार भएर लाग्न पनि आग्रह गर्नुभयो ।
सर्प प्रजातिको अध्ययन संगै अनुसन्धान गर्दै आउनु भएका प्रशान्त अधिकारीले सर्प संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले अजिङ्गरको उद्धार आफ्नो पहिलो अनुभव भएको सुनाउँदै नेपालमा पाईने ७७ प्रजातिका सर्पहरु मध्ये १७ प्रजाति विषालु हुने र सर्पले टोकिहालेमा नआत्तिन अनुरोध गर्नुभयो । रामपुर सव डिभिजन वन कार्यालयका वन रक्षक सुमन भण्डारीले वन संरक्षण संगै पर्यापर्यटनका लागि स्थानीय तहले देखाएको तप्परताको प्रसंशा गर्नुभयो । नेपाली कांग्रेस रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटा र राष्ट्रिय जनमोर्चा रामपुरका इन्चार्ज राम प्रसाद गैरेले मिनी चिडिया खाना स्थापना संगै दिगो संञ्चालन र व्यवस्थापनमा थप जिम्मेवार हुनु पर्ने बताउनुभयो ।
ज्याग्दी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ओमप्रकाश बस्यालले ज्याक्दी वृहत पार्कलाई थप व्यवस्थित गर्दै यस क्षेत्र बाट उद्धार गरिएका जनावरहरुलाई वन कार्यालयको समन्वयमा संरक्षण गर्न आवश्यक प्रबन्ध मिलाईने जानकारी दिनुभयो । कार्यक्रमको अवसरमा अजिङ्गर उद्धारमा सहयोग गर्ने प्रशान्त अधिकारीलाई सम्मान गरिएको थियो । ज्याग्दी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष ओमप्रकाश बस्यालको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष ज्ञान प्रसाद ढकालको स्वागत र सचिव विष्णु मायाँ ढकालको सञ्चालनमा भएको थियो । ज्याग्दी सामुदायिक वनको केही क्षेत्रलाई वृहत पार्कको रुपमा अघि बढाउन गुरुयोजना निर्माण गरी केही वर्ष यता आवश्यक पूर्वाधार निर्माणको कार्य हुँदै आएको छ ।