पाल्पा, रामपुर नगरपालिका वडा नं. २ मा वडा स्तरिय घुम्ती सेवा सम्पन्न भएको छ । वडाको माथिल्लो भेगमा बसोबास गर्दै आएका नागरिकहरुको सहजताको लागि वडाले टोलटोलमा पुगेर बुधबार अत्रबास र शुक्रबार तिलिङडाँडा पुगेर घुम्ती सेवा प्रदान गरेको हो ।
घुम्ती सेवा बाट सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका नागरिकहरुको परिचयपत्र नविकरणका लागि निवेदन संकलन, जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण, उपचार तथा औषधी वितरण, कृषकहरुलाई पशुहरुको औषधी वितरण तथा बाख्राको बोकाको काष्टिङ्ग गरिएको थियो । तल्लो भेगका स्थानीयलाई खयरबोट स्थित वडा कार्यालय बाटै सेवा लिन सहज भए पनि माथिल्लो भेगका जनतालाई उकालो ओरालो हिड्नु पर्ने बाध्यता रहेकाले गत वर्ष देखि वडाले घुम्ती सेवा सञ्चालन प्रदान गर्दै आएको रामपुर २ का वडाध्यक्ष कृष्ण बहादुर दर्जीले बताउनुभयो । “सामाजिक सुरक्षा भत्तालाई निवेदन दिन गाउँ बाट वडा कार्यालय आउन समस्या हुने भएकाले निवेदन संकलन संगै उहाँहरुको स्वास्थ्य परीक्षण गर्ने वडाले घुम्ती सेवा सञ्चालन गरेको हो ।” उहाँले भन्नुभयो ।
वडाका माथिल्लो भागका अधिकांश कृषकहरु बाख्रापालनमा निर्भर भएकाले वडामा उपलब्ध जनशक्ति परिचालन गरी घुम्ती सेवा बाटै बाख्रा पाठाको काष्टिङ्ग र औषधी वितरण गरिएको थियो । वडाले गत बुधबार अत्रबास टोल र शुक्रबार तिलिङडाँडा टोलमा घुम्ती सेवा सञ्चालन गरेको थियो । घुम्ती सेवा बाट ५० जना नागरिकको सामाजिक सुरक्षा भत्ता नविकरण निवेदन संकलन, ४८ जना जेष्ठ नागरिकलाई स्वास्थ्य परीक्षण गरी औषधी वितरण र ५० वटा बाख्राको पाठाको काष्टिङ्ग तथा ३ सय भन्दा बढी बाख्रा, गाई, भैंसीको लागि औषधी वितरण गरिएको वडा सचिव बासुदेव ढकालले जानकारी दिनुभयो ।
घुम्ती सेवामा वडाका कर्मचारी संगै वडाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण खयरबोट आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सञ्जु रानाले स्वास्थ्य परीक्षण सहित औषधी वितरण र पशु प्राविधिक उपेन्द्र कुमार पण्डितले पशु सेवा प्रदान गर्नु भएको थियो । कार्यक्रममा रामपुर २ का वडा सदस्य टक माया थापा, तेज कुमारी नेपाली, शिव शंकर जि.सी. लगाएतको सहभागीता रहेको थियो ।