पाल्पा, रामपुर नगरपालिका वडा नं. ५ बेझाँड बजार क्षेत्रका खाद्यान्न पसलहरुको सोमबार अनुगमन भएको छ । रामपुर नगरपालिकाले घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तानसेनको सहकार्यमा अनुगमन गरेको हो ।
बजार अनुगमन समितिका संयोजक बालकुमारी थापाको संयोजकत्वकमा रामपुर नगरपालिका ५ बेझाँड बजारका खाद्यान्न तथा खाद्य उद्योगहरुको अनुगमन गरिएको थियो । टोलीले बेझाँड बजार क्षेत्रका १२ वटा बढी खाद्य पसलहरुको निरिक्षण गरेको छ । सो क्रममा अनुगमन टोलीले ५० हजार भन्दा बढीको म्याद गुज्रेका सामाग्रीहरु जफत गरेको छ । टोलीले खाद्यान्न सम्बन्धी पसलमा लेवल नभएका सामग्र खरिद विक्री नगर्न, दर्ता गरेर मात्र व्यवसाय सञ्चालन गर्न, खाने र नखाने सामान छुट्टाछुट्टै राख्न, व्यवसायको उद्देश्य अनुसारका सामाग्री मात्र खरिद विक्री गर्न, सरसफाईमा ध्यान दिन आग्रह गरेकोे छ ।
अनुगमनको क्रममा बेसन, सुजी, चकलेट, मसला, फुल्की, सिद्रा, विस्कुट लगाएतका सामाग्री पसलहरु बाट जफत गरेको छ । उपप्रमुख थापाको नेतृत्वमा रहेको अनुगमन टोलीमा रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल, घरेलु तथा साना उद्योग कार्यालय तानसेनका प्रमुख देवीराम भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तानसेनका प्रमुख नरेश श्रेष्ठ, ईलाका प्रशासन कार्यालय रामपुरका जिवन बस्याल, उद्यमविकास सहजकर्ता मनोज घिमिरे, ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी वरिष्ठ नायव निरीक्षक दल बहादुर बुढा लगाएतको उपस्थिति रहेको थियो ।