पाल्पा, युनाइटेड मिसन अस्पताल तानसेन पाल्पाले यही साउन २१ गते देखि स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय यथावत रहेको जानकारी गराएको छ । स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन बापतको रकम समयमा भुक्तानी नपाएको, बोर्डको कम मुल्यांकनका कारण अस्पताल अप्ठेरोमा परेको लगायतका विषयहरुलाई अगाडि सार्दै केही दिन अघि अस्पतालले स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको थियो ।
तर यो निर्णय सार्वजनिक भए संगै सरोकारवालाहरु विच बहसको बिषय बनिरहेको सन्दर्भमा अस्पतालले स्वास्थ्य बीमा अन्तरगतको सेवा स्थगन नगर्ने विषय एकाएक विहिबार सामाजिक सञ्जालमा छाएको थियो । बिहीबार पाल्पाबाट निर्वाचित संघीय सांसदहरु, अस्पतालका निर्देशक र स्वास्थ्य बीमा बोर्डका पदाधिकारीबीच छलफल भएको तस्वीर सार्वजनिक संगै सेवा स्थगन नगर्ने निर्णय भएको भन्दै चर्चाको विषय बन्न पुगेको थियो । अन्तत अस्पतालका निमित्त अस्पताल निर्देशक जिवन भट्टराईले एक सूचना जारी गर्दै अस्पतालको निर्णय यथावत रहेको जानकारी दिनु भएको छ ।
शुक्रबार जारी सूचनामा भनिएको छ, “स्वास्थ्य वीमा वोर्डबाट यस अस्पतालले उठाएका विषयहरुमा आज मिति २०८० श्रावण १९ गते सम्म पनि सम्बोधन नभएकाले यसकक अस्पतालका मागहरुको सम्बोधन नभए सम्मका लागी अस्पतालले मिति २०८० श्रावण २१ गतेबाट स्वास्थ्य वीमा अन्तर्गतका स्वास्थ्य सेवाहरु स्थगित गर्ने निर्णय यथावत रहने जानकारी गराएँदछु ।” साथै अस्पतालले स्वास्थ्य वीमा वोर्डबाट अस्पतालका मागहरुको उचित सम्बोधन भएमा यस अस्पताल जुनसुकै बेला पनि स्वास्थ्य वीमा अन्तर्गत स्वास्थ्य सेवा दिन तयार रहेको जनाएको छ । अस्पतालले स्वास्थ्य बीमा बापत खर्च भएको रकमको समयमा भुक्तानी नपाएको भन्दै आउँदो आइतबारदेखि सेवा बन्द गर्ने जनाएको थियो । त्यसयता विभिन्न चरणमा जिल्लास्थित क्रियाशिल रानीतिक दल र सरोकारवाहरु बीमा सेवा बन्द नगर्नका लागि छलफल भएका थिए ।