ईलाका प्रशासन रामपुर बाट ५ हजार ६ सय बढी नयाँ नागरिकता जारी

दान बहादुर हिस्की

पाल्पा, ईलाका प्रशासन कार्यालय रामपुर बाट गत आर्थिक वर्षमा ५ हजार ६ सय बढी नयाँ नागरिकता जारी भएको छ । कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७९/०८० मा नयाँ नागरिकता ५ हजार ६ सय ८२ जनाले लिएको ईलाका प्रशासन कार्यालय रामपुरले जनाएको छ ।

कार्यालयको तथ्याङ्क अनुसार नयाँ नागरिकताको प्रमाण पत्र लिनेको संख्या गत वर्ष बढेको देखिन्छ । आर्थिक वर्ष २०७८/०७९ मा कार्यालय बाट ३ हजार ९ सय ६९ नयाँ नागरिकता जारी भएको थियो । नागरिकताको प्रतिलिपि लिनेको संख्या भने घटेको देखिएको छ । आ.व. २०७८/०७९ मा १ हजार ९ सय ९६ जनाले नागरिकताको प्रमाण पत्रको प्रतिलिपि लिएकोमा गत वर्ष १ हजार ५ सय ४५ जनालाई प्रदान गरिएको इलाका प्रशासन कार्यालय रामपुरका प्रमुख भगवान भक्त अर्यालले बताउनुभयो ।

पाल्पा बाट जारी भएका २०६२ माघ १८ भन्दा अघिको नागरिकताको अभिलेख सशस्त्र द्वन्दको समयमा पाल्पा दरबार आक्रमणमा जलेर नष्ट भएको थियो । अभिलेखको लागि पुराना नागरिकता परिवर्तन गर्न कार्यालयले अनुरोध गरेको थियो । सोही कारण पनि नयाँ नागरिकता लिनेको संख्या बढेको देखिएको हो । कार्यालय प्रमुख अर्यालले भन्नुभयो, “पुराना नागरिकता प्रमाणपत्रमा उल्लेख गरिएको विवरण तथा फोटो नबुझिनाले नागरिकहरुलाई समस्या हुँदै आएको थियो । २०६२ माघ १८ अघिको नागरिकताको अभिलेख नभएकाले अभिलेखिकरण गरी स्पष्ट विवरण सहितको नागरिकता लिन वडा कार्यालयहरु मार्फत जानकारी गराएका थियौं । त्यसैले पनि यस वर्ष नयाँ नागरिकता लिने संख्या बढेको देखिएको हो ।”

कार्यालयले रामपुर नगरपालिकाको १० वटै वडा, पूर्वखोला गाउँपालिका वडा नं. १ र निस्दी गाउँपालिकाको वडा नं. १ देखि ६ सम्म गरी कार्यालयले तीन वटा पालिकाको १७ वटा वडाका जनतालाई सेवा प्रदान गर्दै आएको छ । कार्यालय बाट गत आर्थिक वर्षमा नाबालक परिचय पत्र ६७ जना, जनजाति प्रमाणित २ सय ६३ जना, दलित प्रमाणित ४३ जना, खस आर्य प्रमाणित १० जना, मुस्लिम प्रमाणित १ जनाको गरिएको छ । त्यस्तै २३ जनाको नामथर प्रमाणित, २० वटा संस्थाको नविकरण गरिएको कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?