धनबहादुर ठाडा
पाल्पा, जिल्लाको निस्दी गाउँपालिकामा कक्षा आठ सम्मका विद्यार्थीले दिवा खाजा पाउने भएको छ । प्रारम्भिक बाल विकास देखि कक्षा आठ सम्मका विद्यार्थीले दैनिक बीस रुपैयाँको दरले खाजा खान पाउने भएको हो ।
संघीय सरकारले हाल प्रारम्भिक बाल विकास देखि कक्षा पाँच सम्मका विद्यार्थीलाई मात्र पन्ध्र रुपैयाँको दरले दिवा खाजा उपलब्ध गराएको छ । भोको पेटले राम्रोसँग सिक्न नसकिने भएकोले आठ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताउनुभयो । यसले विद्यार्थीहरुको उपस्थितिमा नियमित हुने विश्वास लिएको उहाँको भनाई छ ।
संघीय सरकारले कक्षा छ को समेत बजेट कटौती गरेकोले पालिकाले दिवा खाजा कार्यक्रमलाई थप व्यवस्थित बनाउन बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताउनुभयो । विद्यार्थीलाई साविकको खाजा रकम न्यून भएको महशुस गरि पालिकाले प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्म थप पाँच रुपैयाँ र कक्षा छदेखि आठसम्म बीस रुपैयाँको दरले बजेटको व्यवस्था गरेको दयालले बताउनुभयो ।
दिवा खाजा कार्यक्रम सफल पार्नको लागि विद्यालयको महत्वपूर्ण भुमिका रहने भएकोले नियमित अनुगमनको लागि वडा कार्यालयलाई जिम्मा दिएको गाउँपालिकाले जनाएको छ । निस्दीमा हाल ५२ वटा सामुदायिक विद्यालय रहेको शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताउनुभयो । गत वर्ष निस्दीले कक्षा आठ सम्मका विद्यार्थीलाई पन्ध्र रुपैयाँका दरले रकम उपलब्ध गराएको थियो ।