सुन्दर समाज निर्माणका लागि धर्मको महत्वपूर्ण भुमिका हुने नगर प्रमुख थापाको भनाई

पाल्पा, रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले अनुशासित र सुन्दर समाज निर्माणका लागि धर्मको महत्वपूर्ण भुमिका हुने बताउनु भएको छ । रामपुर नगरपालिका वडा नं. १० को गेझा आँधीघाटमा विहिबार पुरुषोत्तम ज्ञान महायज्ञको उद्घाटन गर्दै उहाँले धर्मले मानिसलाई अनुशासनको दायरामा राख्ने भन्दै शान्त र सुन्दर समाज निर्माणका लागि धर्म आवश्यक रहेको बताउनुभयो ।

साथै विभिन्न फरक विचार र राजनितिक आस्था भएका व्यक्तिलाई पनि आध्यात्मिक विचार र धर्मले एकताको सुत्रमा बाँध्ने उल्लेख गर्नुभयो । अरु समयमा विभिन्न राजनीतिक विचार र आस्था फरक भए पनि धार्म कर्मको समयमा सबैलाई एक बनाउने बताउनुभयो । नगर प्रमुख थापाले धर्म संस्कृतिको संरक्षण संगै नगरका विभिन्न स्थानमा रहेका मन्दिरको संरक्षणमा स्थानीयले ध्यान दिन आग्रह गर्नु भएको छ । पछिल्लो समय धर्म परिवर्तन चुनौतीको रुपमा रहेको बताउनु भएको छ । उहाँले व्यक्तिले आफ्नो ईच्छा र चहाना अनुसार धर्म परिवर्तन गर्न पाउने नैसर्गिक अधिकार भए पनि विभिन्न लोभ र प्रलोभनमा पारेर धर्म परिवर्तन गराउने काम ठिक नभएको बताउनुभयो ।
कार्यक्रममा रामपुर नगरपालिका वडा नं. १० का अध्यक्ष तोयानाथ सारु थापाले हिन्दु सनातन धर्ममा रहेका केही विभेदहरु हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । उहाँले धर्मले मानिसलाई असल र ज्ञानी बनाउने भन्दै धर्मको संरक्षणमा जोड दिनुभयो । नर्मदेश्वर महादेव मन्दिर संरक्षण समिति रामपुर १० पाल्पाको आयोजनामा भएको पुरुषोत्तम ज्ञान महायज्ञ उट्घाटन कार्यक्रम समितिका अध्यक्ष बैकुण्ठ खनालको अध्यक्षता र रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

समितिका सचिव हरि प्रसाद आचार्यको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन पर्शुराम पाण्डे र मकुण्ड देवकोटाले गर्नु भएको थियो । यही श्रावण २९ गते सम्म चल्ने महायज्ञमा पण्डित ऋषिराम शरणको मुखारविन्दबाट संगितमय शैलीमा कथा वाचन तथा भजन कृतन भई रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?