पाल्पा, भारतको हैदराबादमा सम्पन्न भएको सातौँ दक्षिण एसियाली आईटीएफ तेक्वान्दो प्रतियोगितामा पाल्पाका दुई खेलाडीले ६ पदक जितेको छ । तानसेन ७ का एञ्जल रेग्मी र उनका दाई रजन रेग्मीले ३/३ पदक हात पारेको हो ।
प्रतियोगितामा एञ्जलले एक स्वर्ण र २ कास्य पदक, रजनले एक रजत र २ कास्य पदक जित्न सफल भएको पाल्पा आइटिएफ तेक्वान्दो संघका प्रशिक्षक कृष्ण थापाले जानकारी दिनुभयो । प्रतियोगितामा नेपालसहित भारत, बङ्लादेश, युएई, श्रीलंका र अफगानिस्तानका खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा ३५ केजी देखि ८० केजी माथि सम्मका खेलाडीलाई विभिन्न समूहमा विभाजन गरी खेल खेलाइएको थियो । खेलमा विभिन्न उमेर समूहको स्पाईरिङ्ग, प्याटर्न, ग्रुप स्पाईरिङ्ग, ग्रुप प्याटर्नमा प्रतिस्पर्धा भएको खेलाडी रेग्मीले बताउनुभयो ।
पदक प्राप्त गर्ने खेलाडीहरुलाई तानसेनमा एक कार्यक्रम गरी अनुभव आदन-प्रदान तथा सम्मान गरिएको छ । पाल्पा आईटीएफ तेक्वान्दो संघले आयोजना गरेको कार्यक्रममा पदक जित्ने खेलाडीलाई खेलकुद पत्रकार मञ्च पाल्पाका अध्यक्ष माधव प्रसाद अर्याल र नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम राना, पूर्व अध्यक्ष गोविन्द भट्टराईले सम्मान गर्नुभयो ।
खेलाडीहरुले स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरको प्रतियोगिता खेल्दाको अनुभवका साथै आफ्नो भविष्यको लक्ष्यका विषयमा जानकारी गराउँदै आफूहरुलाई घरपरिवार वाहेक अन्य क्षेत्रबाट सहयोग नमिलेको बताए । नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले प्रतियोगितामा विभिन्न पदक जित्न सफल खेलाडीलाई बधाई तथा शुभकामना व्यक्त गर्दै खेलाडीको भविष्य सुनिश्चित हुनेगरी राज्यले सहयोग गर्नुपर्ने बताउनुभयो । संघका प्रमुख सल्लाहकार तथा पत्रकार देव पचभैयाले तेक्वान्दोले शरीरलाई स्वस्थ राख्नुका साथै सुरक्षित महशुस गराउने भएकोले आफ्ना छोराछोरीलाई यस खेलमा सहभागी गराउँदा राम्रो हुने बताउनुभयो ।
प्रशिक्षक थापाका अनुसार अहिले पाल्पामा तेक्वान्दो खेलको प्रशिक्षण १२ स्थानमा भैरहेको छ ।