पाल्पा, पत्रकार देव पचभैया ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट सम्मनित हुनु भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २४ औँ स्थापना दिवसको अवसरमा उहाँ पुरस्कृत हुनु भएको हो ।
कोशी प्रदेशको विराटनगरमा शनिबार आयोजित कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले पत्रकार पचभैयालाई उक्त पुरस्कार प्रदान गर्नु भएको थियो । पचभैया नगद २० हजार सहित सम्मान पत्र प्राप्त गर्नु भएको छ । २०५६ सालदेखि उहाँ पत्रकारितामा क्रियाशील रहँदै आउनु भएको छ । उहाँ श्रीनगर एफ. एमका स्टेसन म्यानेजर, उज्यालोका पाल्पा संवाददाता तथा फ्लास नेपाल अन लाईन खबरका सम्पादक पनि हुनुहुन्छ ।
तत्कालीन नेपाल आदिवासी जनजाति पत्रकार संघ (फोनिज) पाल्पाका संस्थापक अध्यक्ष हुँदै २ कार्यकाल जिल्ला अध्यक्ष, पश्चिमाञ्चल इन्चार्ज र फोनिज लुम्बिनी प्रदेश इन्चार्जको रूपमा आदिवासी जनजाति पत्रकारलाई नेतृत्व गरिसक्नु भएको छ । उहाँ हाल मगर पत्रकार संघको महासचिवसमेत हुनुहुन्छ ।
फोनिजले पचभैयासहित फोनिजले एक मातृभाषा संचार संस्था र पाँच जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो । ‘फोनिज राष्ट्रिय पत्रकारिता सम्मान–२०८०’ बाट सरोकार टेलिभिजनका दिलीप थापा मगर (काठमाण्डौ) र ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०८०’बाट काठमाण्डौबाट प्रकाशित हुँदै आएको ‘नेपालभाषा टाइम्स दैनिक’ लाई नगद २५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो । ‘फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८०’ बाट स्व. किसन राई (मरणोपरान्त), देव पचभैया (पाल्पा), जीवन लामा (दोलखा) र उन्नति चौधरी (कैलाली)लाई नगद २० हजार र सम्मानपत्रले पुरस्कृत गरिएको हो ।