नेपाल शिक्षक महासंघ रामपुरले धर्ना सहित नगरपालिकामा ज्ञापनपत्र बुझायो

पाल्पा, नेपाल शिक्षक महासंघले आइतबार देशैभरका स्थानीय तहमा धर्ना दिएको छ । राष्ट्रिय समिति द्वारा घोषित आन्दोलन अनुसार पहिलो चरणमा पालिकाहरु धर्ना दिएको हो ।

नेपाल शिक्षक महासंघमा आवद्ध सबै संघ सङ्गठनले बिहान ११ देखि २ बजेसम्मका स्थानीय तहमा शान्तिपूर्ण, स्थानीय तहको सेवा प्रवाह र विद्यालयमा कुनै प्रभाव नपारी धर्ना दिएका हुन् । धर्ना लगत्तै स्थानीय सरकारलाई विगतमा शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच भएका ३० बुँदे र ५१ बुँदे सहमतिको बारेमा जानकारी गराउनका लागि सहमतिको प्रतिलिपि सबै स्थानीय तहलाई बुझाएकोछ ।

यता नेपाल शिक्षक महासंघ रामपुरले पनि धर्ना सहित ज्ञापनपत्र बुझाएको छ । तीन घण्टा घर्ना दिएर महासंघले रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेललाई ज्ञापनपत्र बुझाएको हो । नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष बद्री घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्याल प्रमुख अतिथी रहनु भएको थियो । प्रमुख अतिथी बस्यालले कार्यरत सबै शिक्षकहरुको पेशागत सुरक्षाका लागि सरकार उदासिन रहेको बताउँदै सम्पुर्ण स्थाई र अस्थाई शिक्षकहरुको मागलाई बेवास्था गरी गैह्र जिम्मेवार ढंग बाट शिक्षा ऐन ल्याउन लागेकोमा घोर आपत्ति प्रकट गर्नुभयो ।

नेपाल सरकारले ल्याउन लागेको शिक्षा ऐनले सबै शिक्षकको माग सम्बोधन नगरेको, सरोकारवालासँग छलफल नगरी शिक्षा ऐन ल्याउन लागेको, नेपाल शिक्षक महासंघ सरकारले गरेको ५१ बुँदे सहमति कार्यान्वयन गर्न नखोजेको भन्दै यसरी धर्ना दिइएको नेपाल शिक्षक महासंघ रामपुरका अध्यक्ष बद्री घिमिरेले बताउनुभयो । धर्ना कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक संघ, संगठनका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

यस्तै नेपाल शिक्षक महासंघ निस्दी गाउँपालिकाले पनि गाउँपालिका भवन मित्यालमा धर्ना दिएको छ । धर्ना कार्यक्रम नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु अध्यक्षता र नेपाल शिक्षक महासंघका केन्द्रिय प्रतिनिधि भेष बहादुर अधिकारीको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा प्रमुख अतिथी अधिकारी र शिक्षक महासंघ जिल्ला सदस्य नवल सिं विरकट्टाले शिक्षकहरुको माग प्रति सरकार गैरजिम्मेवार रहेको भन्दै माग पुरा नभए आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने बताउनुभयो । नेपाल राष्ट्रिय शिक्षक संगठन क्रान्तिकारीका निस्दी अध्यक्ष विष्णु पाण्डेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ निस्दीका अध्यक्ष विष्णु प्रसाद रेग्मीले गर्नु भएको हो ।

शिक्षक महासंघले पहिलो चरणको विरोधका कार्यक्रम अन्तर्गत साउन ३० गते सबै जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा धर्ना, साउन ३२ गते प्रदेशको सामाजिक विकास मन्त्रालयमा धर्ना र भदौ १ गते संघिय सांसदहरूलाई जानकारीसहित सहयोगका लागि आग्रह गर्ने कार्यक्रम रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?