पाल्पा , पछिल्लो केही दिन यता आँखा पाक्ने रोगको प्रकोप बढ्दै गए पछि रामपुर नगरपालिकाले विद्यालयहरुलाई संक्रमणको अवस्था अनुसार विद्यालय बन्द गर्न अनुरोध गरेको छ । रामपुर नगरपालिका शिक्षा शाखाले मंगलबार एक सुचना जारी गर्दै विद्यार्थीहरुमा यो रोगको प्रकोप बढे अवस्था हेरेर विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार स्थानीय विदा दिन आग्रह गरेको छ ।
रोगको नियन्त्रण र विकराल रुपमा नफैलियोस भन्ने उद्देश्यले हरेक विद्यालयले प्रकोपको अवस्था हेरेर विदा दिन सक्ने रामपुर नगरपालिकाका नगर शिक्षा अधिकृत विकल काफ्लेले बताउनुभयो । केही विद्यालयहरुमा मात्रै बढि संक्रमण देखिएकोले तत्काल सबै विद्यालय बन्द नगरिएको र अवस्था हेरेर नगरपालिकाले थप निर्णय गर्ने अधिकृत काफ्लेले बताउनुभयो ।
साथै नगरपालिकाले आँखा पाक्ने रोगबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन आग्रह गर्दै रोग लागे चस्माको प्रयोग र स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।