दान बहादुर हिस्की
पाल्पा , निस्दी गाउँपालिकाले वार्षिक समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । गाउँपालिकाको बहुउद्देश्य सभाहल निस्दी ४ झ्यालटुङ्गमा कार्यक्रम गरी आर्थिक वर्ष २०७९/०८० को समिक्षा सहित सार्वजनिक सुनुवाई गरेको हो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुले सबै पक्ष संग समन्वय गरेर पालिका अघि बढिरहेको बताउनुभयो । चालू आर्थिक वर्षलाई पालिकाले शिक्षा वर्षको रुपमा लिएको जानकारी दिदै आगामी वर्ष देखि देखिने गरी कार्य गर्नका लागि सरोकारवालाहरु संग सल्लाह र समन्वय गरेर निश्चित विषयमा पालिका केन्द्रित हुने बताउनुभयो । सबैको सुझावलाई सकारात्मक ढंग बाट लिएको स्पष्ट पार्नुभयो । पालिकाले उत्पादन हातमा अनुदान साथमा कार्यक्रम अबलम्बन गरेको जानकारी दिदै उत्पादनको आधारमा कृषकहरुलाई अनुदान वितरण गरिने बताउनुभयो ।
कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले आर्थिक वर्ष २०७९/०८० मा गत आर्थिक वर्ष विनियोजित रकम मध्ये चालू तर्फ ८३ दशमलव ९ र पुँजिगत तर्फ ६४ दशमलव ९४ प्रतिशत रकम खर्च भएको बताउनु भएको थियो । उहाँले पालिका बाट सम्पन्न भएको योजना तथा कार्यक्रमहरुको बारेमा जानकारी दिनुभयो ।
नेकपा एमाले जिल्ला कार्यसमिति पाल्पाका उपाध्यक्ष देविलाल लामिछानेले राजनैतिक दलहरु पनि योजनाहरुलाई प्रभावकारी बनाउन सबैको दायित्व रहने बताउनुभयो । निस्दीलाई कसरी समृद्ध बनाउन सकिन्छ भन्ने तर्फ व्यवहारिक ढंग बाट अघि बढ्नु पर्ने, जनता संग जोडिएर संग जोडिएर कार्य गर्नु पर्ने बताउनुभयो ।
नेपाली कांग्रेस निस्दी गाउँकार्य समितिका सभापति पूर्ण बहादुर खाँणले भौतिक पूर्वाधार संगै सामाजिक विकासका कार्यमा ध्यान दिनु पर्ने बताउनुभयो । अनुदानका कार्यक्रमलाई प्रोत्साहन गर्नु अावश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागी मध्ये १८ जना स्थानीय तथा सरोकारवालाहरुले बाँदरले कृषकहरुलाई दिएको सास्ती, विद्युत विस्तार, योजना फरफारकमा देखिएका समस्या, सीपमुलक तालिमको प्रभावकारीता, स्वास्थ्य, शिक्षा, कृषि क्षेत्रका समस्या, कृषकका लागि अनुदान वितरण, पर्यटन पुर्वाधार लगाएतका विषयमा अाफ्ना सुझाव सहितका जिज्ञासा राखेका थिए ।
सहभागीले उठाएका विषयमाथि प्रमुख प्रशासकिय अधिकृत सहित वडा नं. ५ का वडा अध्यक्ष दुर्गा सोमै, प्रशासन अधिकृत प्रमुख अर्जुन खनाल,इन्जिनियर संजय खनाल,लेखा प्रमुख सरोज खनाल, स्वास्थ्य शाखा प्रमुख रेम बहादुर दिसा, शिक्षा शाखा प्रमुख नर बहादुर थापा, र पशु शाखा संयोजक अोम बहादुर मश्राङ्गीले प्रकाश पार्नु भएको थियो ।
कार्यक्रमको सहजिकरण पत्रकार माधव अर्याल र नारायण न्यौपानेले गर्नु भएको थियो । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारुको अध्यक्षतामा भएको कार्यक्रम गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाअध्यक्ष मेख बहादुर सुनारीको स्वागत र पत्रकार नारायण न्यौपानेको सञ्चालनमा भएको हो ।