मिडिया कमजोर भयो भने सरकार पनि कमजोर हुन्छ : मुख्यमन्त्री चौधरी

बुटवल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मिडिया कमजोर भयो भने सरकार पनि कमजोर हुने बताउनु भएको छ । बुटवलमा शुक्रबारदेखि सुरु लुम्बिनी प्रादेशिक मिडिया सम्मेलनको उद्घाटन गर्दै मुलुकको राजनीतिक परिवर्तनमा मिडियाको ठूलो योगदान रहेको स्मरण गर्दै मिडियाहरु बलियो भए मात्र सरकार बलियो हुने बताउनु भएको हो ।

      उहाँले भन्नुभयो, “मिडिया कमजोर भयो भने सरकार पनि कमजोर हुन्छ । यति कमजोर हुन्छ की आफ्नो कुराहरु तपाईहरु बाट सिक्ने मौका पाउँदैन । जान्ने मौका पनि पाउँदैन । काम गर्ने मौका पनि पाउँदैन ।” उहाँले सरकारको काम कारबाहीलाई सञ्चार माध्यम र पत्रकारले निगरानी गर्न आग्रह गर्नु भएको थियो । सरकारको गल्तीमा आलोचना गरेर लेख्न आग्रह गर्दै उहाँले सही मार्गदर्शनमा हिड्नका लागि सहयोग गर्न अनुरोध गर्नुभयो । मुख्यमन्त्री चौधरीले भन्नुभयो, “मिडियाहरुले सरकारको गुनगान गाउनु पर्दैन, आलोचनात्मक लेख्नुस् तर कसैलाई सिध्याउने गरी मिडिया लाग्नुहुँदैन ।”

कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाण, बुटवल उपमहानगरपालिकाका उपप्रमुख सवित्रा अर्याल र सियारी गाउँपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले पत्रकारिता समय अनुसार चल्नु आवश्यक रहेको बताउनुभएको थियो । सम्मेलनमा प्रेस काउन्सील नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, अग्रज पत्रकारहरु कनकमणि दीक्षित, युवराज घिमिरे, डा. बालकृष्ण चापागाई लगायतले सञ्चार माध्यमहरुले वहुआयामिक चुनौतिहरुको सामना गरिरहेको उल्लेख गर्नु भएको थियो ।

कार्यक्रमलाई सम्मेलनमा प्रदेशभरका छापा, विद्युतीय र अनलाइन गरी करिब दुई सय जना सञ्चार उद्यमी र पत्रकारहरुको सहभागिता रहेको थियो । सम्मेलनमले मोफसलका मिडियाहरुको सबलिकरण, पत्रकारहरुको रोजगारीको सुरक्षा, विज्ञापन दररेटमा एकरुपता लगायतका विषयमा बसन्तपुर घोषणापत्र जारी गर्ने प्रकाशन तथा प्रशारण संघ लुम्बिनीका अध्यक्ष नवराज कुंवरले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?