आज नाग पञ्चमी, नाग देवताको पुजा गरी मनाईदै

पाल्पा, आज साउन शुक्ल पञ्चमी अर्थात नाग पञ्चमी । पञ्चमीका दिन परम्पराअनुसार नाग देवतालाई नागस्थानमा दूध, दुबो, जल चढाएर धूपधुवाँर गर्दै नाग पञ्चमी पर्व मनाइँदै छ । पूजाआजा गरी घरका मूलढोकामा नागको तस्वीर टाँस्ने गरिन्छ ।

यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास रहेको छ। नाग पूजाको प्रचलन वैदिककाल देखि नै शुरू भएको हो। वैदिक मान्यता अनुसार नागलाई सर्पको राजा मानिन्छ । नाग रिसाए भने पानीको अभाव हुने भएकाले पानीका लागि पनि नागलाई खुशी पार्न पूजा गर्ने परम्परा रहेको पाईन्छ । जस अनुसार गण्डकी बेशी क्षेत्रमा विशेष गरि दैनिक उपभोग गर्ने पानीको मुहान, कुलोको मुहानहरुमा पुजा गर्ने प्रचलन छ ।

वराहपुराणमा उल्लेख भएअनुसार श्रावण शुक्ल पञ्चमीमा नागराज सँग ब्रह्माको संवाद भएकाले पनि आजको दिन नाग पूजाका लागि प्रसिद्ध मानिन्छ। प्रत्येक घरमा नाग रहेका हुन्छन्। घरको जगमुनि बसेका नाग रिसाइ गएमा घरको जग नै भत्कन्छ भन्ने धार्मिक विश्वासमा पनि नाग पूजा गर्ने परम्परालाई निरन्तरता दिँदै आइएको हो।

नागलाई विष्णु र शिवका रूपमा मान्ने प्रचलन वैदिक सनातन कालदेखि नै छ। भगवान् शिवले नागको माला लगाउने र भगवान् विष्णु जलमाथि शेष नागको शय्यामा फणको छाता ओढी शयन गर्ने भएकाले दुवै भगवानलाई नागका रूपमा मान्ने गरिएको विश्वास छ।
शास्त्रमा अनन्त, वासुकी, तक्षक, कुलिर, कर्कोटक, शङ्ख, पद्म, महापद्म गरी ८ नागको विशेष महत्व रहेको वर्णित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?