पाल्पाको माथागढीमा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ जना घाईते

पाल्पा, पाल्पाको माथागढी गाउँपालिका-२ मा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । बासटारी-झडेवा भित्रि सडक खण्ड अन्तर्गत झडेवा बाट रुप्से तर्फ आउँदै गरेको लु ४ त ६६३२ नम्बरको ट्याक्टर सोमबार अपरान्ह सपाङ्दीमा दुर्घटना हुँदा एकको मृत्यु संगै अन्य ५ जना घाईते भएका छन् ।

ग्याबिङ जाली बोकेको ट्याक्टर अनियन्त्रित भै सडक छेउको पिल्लरमा ठक्कर  खाएर सडकमा पल्टिदा ट्याक्टरमा सवार ६ जना मजदुरहरु घाईते भएका थिए । घाईते मध्ये माथागढी गाउँपालिका-२ दोहोरा बस्ने ३८ वर्षिय बेद प्रसाद भुसाललाई लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो । घाईते हुनेहरुमा माथागढी २ का ३६ वर्षिय रीप बहादुर सारु, सोही स्थानका ४४ वर्षिय गोबिन्द बहादुर थापा, ३० वर्षिय नरध्वज सारु, २५ वर्षिय सरोज सारु र ३५ वर्षिय टोप बहादुर सारु रहेका छन् ।

उनीहरुको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ । घाईते मध्ये २ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनाको विषयमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?