पाल्पा, रामपुर नगरपालिकामा स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखा बाट सम्पादन गरिएका स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा भएको छ । नगर भित्रका १८ वटा स्वास्थ्य संस्था तथा स्वास्थ्य शाखाले आर्थिक वर्ष २०७९/०८० मा भएका कार्यक्रमको प्रगति समिक्षा गरेको हो ।
रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा स्वास्थ्य शाखा संगै रामपुर अस्पताल, रामपुर आयुर्वेद अस्पताल, गाँडाकोट स्वास्थ्य चौकी, दर्छा स्वास्थ्य चौकी, खालीवन स्वास्थ्य चौकी, गेझा स्वास्थ्य चौकी सहित ५ वटा आधारभूत स्वास्थ्य केन्द्र र ७ शहरी स्वास्थ्य केन्द्रका प्रमुख तथा सुचना अधिकारीहरुले गत वर्ष भएका प्रगति, स्वास्थ्य संस्था बाट प्रवाह हुँदै आएका सेवाको वर्तमान अवस्थाको बारेमा प्रतिवेदन पेश गर्नु भएको थियो । कार्यक्रममा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य संस्थामा भएका राम्रा कार्यलाई निरन्तरता दिदै भएका कमिकमजोरीलाई सुधार गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले जनतालाई स्वास्थ्य सेवा सहज रुपमा उपलब्ध गराउन नगर पालिका प्रतिवद्ध रहेको जानकारी दिनुभयो ।

कार्यक्रमको सहजिकरण स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डाक्टर राजेन्द्र गिरी र स्वास्थ्य कार्यालय पाल्पाका तथ्याङ्क अधिकृत टुकराज पोखरेलले गर्नु भएको थियो । कार्यक्रमको अवसरमा डाक्टर गिरीले उपस्थित जनाप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुलाई डेंगु संक्रमणको वर्तमान अवस्थाको बारेमा जानकारी दिदै रोकथाम तथा नियन्त्रणको बारेमा गम्भिर हुनु पर्ने अवस्था आएको बताउनुभयो । उहाँले त्यसका लागि स्थानीय स्तर बाटै ठोस कदम चाल्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक सिमा थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन स्वास्थ्या शाखा संयोजक गिरिराज घिमिरेले गर्नु भएको हो ।