दान बहादुर हिस्की
पाल्पा, नेपाली कांग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले कांग्रेसलाई मिसन चौरासी भन्दा पनि कामको चिन्ता रहेको बताउनु भएको छ । नयाँ तथा पुराना दलका नेता शिर्ष नेताहरु बाटै मिशन चौरासीको कुरा ल्याईरहेको सन्दर्भमा शर्माले निर्वाचन लक्ष्यित मिसन चौरासी भन्दा पनि समाज र मुलुकको हितका लागि सोच्ने बेला आएको बताउनुभएको हो ।

नेपाली कांग्रेस प्रतिनिधि सभा पाल्पा क्षेत्र १, प्रदेश सभा १ र २ ले सोमबार रामपुरमा आयोजना गरेको प्रतिनिधि सभा क्षेत्रीय एवं प्रदेश सभा सम्मेलनलाई सम्बोधन गर्दै शर्माले कांग्रेसलाई मिसन चौरासीको बारेमा भन्दा पनि कामको चिन्ता रहेको बताउनु भयो । एउटा निर्वाचन सकियो अर्को चुनावको चिन्ता लिदै गयौं भने जनताको देश र जनताको लागि हामीले कहिले गर्ने भन्ने विषयमा गम्भिर हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “अब्बल विद्यार्थी त्यो हो जस्ले परीक्षाको होईन । पढाईको चिन्ता गर्छ ।” कांग्रेसले केवल आफुले मात्र जितेर मात्र नपुग्ने भन्दै समाजले जित्ने कुरा, समाजलाई गास्ने कुरा, देशलाई बनाउने कुरा, देशको स्वधिनताको कुरा र देशको शान्तिको कुरा कांग्रेसले गरेर जानु पर्नेमा जोड दिनुभयो । “मिसन चौरासीको कुरा भविष्यमा गरौंला । अहिले समाजलाई एक ठाउँमा गर्ने कुरा, समन्वय गर्ने कुरा राष्ट्रिय स्तरमा पनि गर्छ, जिल्ला र स्थानीय स्तरमा पनि गर्छ । कांग्रेसले गर्छ ।” शर्माले भन्नुभयो ।
पछिल्लो समय पुराना दल प्रति जनताको दृष्टि फरक हुँदै गैरहेको बेला उहाँले कांग्रेसको महत्व नौमती बाजाको जस्तै रहेको बताउनुभयो । शर्माले भन्नुभयो, “पुराना दलको दिन गए भनेर फेसबुक राखेको देख्छु । गाउँमा नयाँ व्याण्ड बाजा बजेको सुनिन्छ । व्याण्ड बाजा बजे पनि नौमती बाजाको महत्व उत्तिनै रहन्छ ।” उपनिर्वाचन पश्चात कांग्रेस नयाँ ढंगले बदलिएर अघि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, “कांगस्रेले लिएको नीति सहि छ । सिद्धान्त सहि छ । संयम राखौं । समन्वय गरौं । सिद्धान्त, विचार र विकास नै कांग्रेसको शक्ति हो ।”
लुम्बिनी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री वीरबहादुर रानाले अब अन्योलहरुलाई चिर्दै कांग्रेसले गाउँ अभियान चलाउनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका निवर्तमान सभापति तथा प्रदेश सभा सदस्य वीरबहादुर राना, काँग्रेस जिल्ला सभापति झपेन्द्र गहिरे, उपसभापति ज्ञान बहादुर गाहा, नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय अध्यक्ष दिनेश कुमार थापा, नेपाल प्रजातान्त्रिक प्रध्यापक संघका केन्द्रीय उपाध्यक्ष मदन कट्टेल, लुम्बिनी प्रदेशका दक्ष जनशक्ति नीति निर्माण विभागका प्रमुख सन्दिप राना, काँग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु माया ढकाल, महासमिति सदस्यहरु देवराज ढकाल, रमणबहादुर थापा, काँग्रेस क्षेत्र नं. २ का क्षेत्रिय सभापति मुक्तिराम जिसी, नेविसंघका पूर्व केन्द्रीय उपाध्यक्ष प्रमोद गुरागाई, काँग्रेस रामपुर नगरका सभापति नेत्र भट्टराई, समानुपातिक उम्मेदवार तारा रसाइली, नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य जीवन तिवारी लगायतले आफ्नो धारणा राखेका थिए ।
नेपाली काँग्रेस प्रतिनिभिसभा क्षेत्र नं १ को आयोजनामा भएको क्षेत्रीय सम्मेलनमा सभापति झमन बहादुर राज मगरको राजनीतिक प्रतिवेदन, सचिव मधु पराजुलीको सांगठनिक र कोषाध्यक्ष डोबराज तिवारीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रम क्षेत्रीय सभापति झमन बहादुर राज मगरको अध्यक्षतामा न्यू होटल श्रीनगरको सभाहलमा भएको कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नं. १ प्रदेश सभा १ का सभापति रामबहादुर रानाको स्वागत र क्षेत्रिय कार्यसमितिका सचिव कपिल खाँणको सञ्चालनमा कार्यक्रम भएको थियो ।