रामपुर १ को टापुधाममा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना

पाल्पा, रामपुर नगरपालिका वडा नं. १ शालिग्राम क्षेत्र, टापुधाम खटाङ्गमा १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना गरिएको छ । अखण्ड नेपाल निर्माणको संकल्प सहित ३ करोड विभिन्न स्थानमा ३ करोड शिवलिङ्ग स्थापना गर्ने अभियानमा सक्रिय धार्मिक अभियन्ता योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्नि शम्शेर प्रताप शाह)को संकल्प अनुसार सोमबार र मंगलबार वैदिक विधि अनुसार प्राण प्रतिष्ठा गरी शिव लिङ्ग स्थापना गरिएको हो ।

यस अघि शिव पञ्चायन मन्दिर तथा शालिग्राम संग्राहालय स्थापना गरिएको तपोभूमि टापुधाममा माटो बाट बनेको १२ लाख १२ हजार ८ सय ८८ शिवलिङ्ग ८ फिट लम्बाई, ८ फिट चौडाई र ८ फिट गहिराईको खाल्डोमा राखेर साना शिव लिङ्गको माथिल्लो भागमा शिला बाट बनेको पञ्चमुखी शिवलिङ्ग स्थापना भएको छ । १२ लाख १२ हजार आठ सय ८८ शिवलिङ्ग स्थापना एवं रोट महोत्सवको मंगलबार समापन गरिएको छ । शिवलिङ्ग स्थापना एवं रोट महोत्सवका संयोजक एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणको अध्यक्षतामा भएको समापन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी थापाले नगरको धार्मिक पर्यटनमा टापुधामको विशेष महत्व रहेको भन्दै यसको संरक्षण, सम्बद्र्धन र प्रवद्र्धनका लागि नगरपालिको सहयोग गर्ने बताउनु भएको थियो । उहाँले कालीगण्डकी हाम्रो सभ्यता रहेको स्मरण गराउँदै नदीको संरक्षणका लागि जनप्रतिनिधि तथा सरोकारवालाहरु लागिरहेको सन्दर्भमा योगीहरुलाई पनि यस कार्यमा सहयोग गर्न अपिल गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले टापुधाम विगत देखि वर्तमान अवस्था सम्म आउनु नगरको लागि गौरवको कुरा रहेको बताउँदै शिवलिङ्ग स्थापना पश्चात दैनिक नित्यकर्मका लागि सबैको उत्तिकै साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले नगरका धार्मिक सम्पदाको पहिचान गरी पुर्नजिवन दिन नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेकपा एमाले रामपुर नगर कमिटी अध्यक्ष विष्णु प्रसाद रेग्मी र जेष्ठ नागरिक मञ्च पाल्पाका संयोजक देवराज ढकालले टापुधामको उत्थानको लागि हातेमालो गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

सांस्कृतिक झाँकी भजनकृतन सहित भएको कार्यक्रममा गोरक्ष जागरण अभियानका संयोजक गुरुदेव बलभद्र नाथजी महाराज, योगिनी श्री उदयनाथ (शान्ति राज्य लक्ष्मी शाह) र योगी अक्षर ब्रम्ह (अग्नि शम्शेर प्रताप शाह)ले धार्मिक प्रवचन दिनु भएको थियो । शिवलिङ्ग स्थापना एवं रोट महोत्सवका संयोजक एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले कार्यक्रमको बारेमा जानकारी दिदै टापुधाममा शिव लिङ्ग स्थापना संगै भगवान शिवको प्रसादको रुपमा रहेको विशेष विधि अनुसार तयार गरिने रोट मन्दिरमा चढाउने व्यवस्था गरिने बताउनुभयो । साथै खाँणले गुरुयोजना बनाएर अघि बढ्ने बताउनुभयो । कार्यक्रमको सञ्चालन वडा नं. १ का सचिव तारानाथ पोखरेलले गर्नु भएको हो ।

योगी नरहरीनाथकी प्रिय चेली नरदेवी नाथ देखि गोरक्ष जागरण अभियानका संयोजक गुरुदेव बलभद्र नाथजी महाराज र डाक्टर योगी दयानाथजीको नियमित साधना केन्द्रको रुपमा रहेको पवित्र कालीगण्डकी तटमा अवस्थित टापुधाममा धार्मिक पर्यटन विकासको लागि शिवलिङ्ग स्थापना गरिएको हो । योगी अक्षर ब्रम्ह अग्नि शम्शेर प्रताप शाहले नेपाललाई अखण्ड राख्नु पर्छ भन्ने संकल्पका साथ विगत ४ वर्ष देखि ३ करोड शिवलिङ्ग स्थापन गर्ने अभियान सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो । शिवलिङ्ग स्थापना एवं रोट महोत्सवमा रामपुर नगपालिका संगै कालीगण्डकी वेशीका हजारौंको उपस्थिति रहेको थियो । श्रद्धालुभक्तजनहरुलाई विशेष विधि अनुसार तयार गरिएको रोट प्रसादको रुपमा वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?