पाल्पा, रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको नव निर्मित बहुउद्देश्य व्यवसायिक भवन उट्घाटन संगै कार्यालय सञ्चालनमा आएको छ । शनिबार कार्यालय सञ्चालन संगै व्यवसायीक प्रयोजनको लागि निर्माण गरेको ५ तले भवन उट्घाटन गरी सोही भवन बाटै सेवा दिन थालेको हो ।
हाल सम्म भाडामा कार्यालय सञ्चालन गर्दै आएको सहकारीले रामपुर नगरपालिका ५ हुलाक टोलमा लिफ्ट सहितको भवन निर्माण गरेको थियो । एक कार्यक्रमका विच भवन उट्घाटन गर्दै लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले बजार क्षेत्रमा खुलेका सिमित व्यक्ति बाट खुलेका सहकारीको गतिविधिले समग्र सहकारी प्रति प्रश्न उठेपनि सबैलाई एउटै स्थानमा राखेर हेर्न नमिल्ने बताउनुभयो । स्थापना काल देखि लामो समय रामपुर सहकारी नेतृत्व समेत गर्नु भएका श्रेष्ठले रामपुर सहकारीको अवस्था मजबुत रहेको बताउनुभयो । उहाँले नयाँ नयाँ प्रविधिको प्रयोग बढ्दै गैरहेको सन्दर्भमा सहकारीलाई आधुनिक प्रविधि मैत्री बनाउँदै अघि बढ्नु समेत आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले ऋण लागानी पश्चात अनुगमन गर्नु आवश्यक रहेको बताउनुभयो । नगरपालिकाको क्षेत्राधिकार भित्र रहेका सहकारीलाई व्यवस्थित बनाउन नगरपालिका अघि बढेको बताउनुभयो । नगरपालिकाले उद्यमी बनाउन युवा स्वरोजगार अन्तर्गत व्याज अनुदान कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै सहजताको लागि सहकारी संग सहकार्य गरे अघि बढेको बताउनुभयो ।
जेष्ठ नागरिक मञ्च पाल्पाका संयोजक देवराज ढकालले शेयर सदस्यको सहयोग बाट मात्र सहकारीले थप गति लिन सक्ने बताउनुभयो । रामपुर नगरपालिका ५ का वडाअध्यक्ष दुर्गा प्रसाद पोखरेलले नगरबासीको जीवनस्तर सुधारको लागि सहकारीले महत्वपूर्ण रहेको बताउनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटा भवन निर्माण मात्र नभै सहकारीले वित्तिय अवस्था सुधार गर्दै गएको बताउनुभयो । शेयर सदस्य लक्ष्मण सुनामले सहकारी मार्फत प्राप्त वित्तिय सेवाले सहज भएको बताउँदै थप व्यवस्थित गरेर अघि बढ्न शुभकामना दिनुभयो । रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले सहकारीको नवनिर्मित भवन बाट प्रदान हुने सेवाले बजार विस्तारमा थप सहयोग गर्ने बताउनुभयो ।
सहकारीका अध्यक्ष गुरुप्रसाद रेग्मीले तीन करोड १८ लाख ३३ हजारको लागतमा लिफ्ट सहितको भवन निर्माण गरी कार्यालय सञ्चालनमा ल्याएको जानकारी दिनुभयो । उहाँले भवन निर्माणमा २ करोड २५ लाख ३३ हजार, लिफ्ट जडानमा २७ लाख र सेक्युरिटि सहितको डेकोरेसन सहित कार्यालय निर्माणमा ६६ लाख खर्च भएको बताउनुभयो । ३ वर्ष भित्र भवन सम्पन्न गर्ने गरी २०७६ कात्र्तिक १६ गते देखि निर्माण सुरु भए पनि कोभिड महामारीका कारण केही ढिलाई भएको बताउनुभयो ।
कार्यक्रमको अवसरमा सहकारीले भवन निर्माणमा महत्वपूर्ण योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । सहकारीले निवर्तमान सञ्चालक समितिका उपाध्यक्ष एवं भवन निर्माण उपसमितिका संयोजक नगिलाल पौडेल, निवर्तमान सञ्चालक समितिका सदस्य एवं भवन निर्माण उपसमिति सदस्य सायबा बेगम, एलके इन्टेरियर डेकोरेशन प्रा.लि.का म्यानेजिङ्ग डाइरेक्टर रामचन्द्र रेग्मी र निर्माण व्यवसायी डुल बहादुर काम्मुलाई सम्मान गरेको थियो ।
सहकारीले सदस्य दुर्घटना विमा कार्यक्रम मार्फत रामपुर ५ का प्रेमलाल डोटेलको परिवारलाई एक लाख रुपैयाँ प्रदान गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) रामपुर शाखा प्रमुख डोलराज श्रेष्ठको उपस्थितिमा स्वर्गीय डोटेलको श्रीमति सरस्वती डोटेललाई चेक प्रदान गरिएको हो । सहकारीका सञ्चालक समिति अध्यक्ष गुरु प्रसाद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष बाबुराम श्रेष्ठको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव कृतिनाथ श्रेष्ठले गर्नु भएको हो ।
साविकको चन्द्र ज्योति र रामपुर बचत तथा ऋण सहकारी एकिकरण भै २०६५ सालमा स्थापना भएको सहकारीमा हाल चार हजार तीन सय १६ शेयर सदस्य तथा एक हजार ८९ बालबचतकर्ता आवद्ध रहेका छन् । सहकारीको शेयर पुँजी पाँच करोड ५२ लाख र कुल पुँजी ५८ करोड ४९ लाख रहेको व्यवस्थापक रामचन्द अधिकारीले जानकारी दिनुभयो ।