रामपुरमा शनिबार निकालियो रोपाई जात्रा !

दान बहादुर हिस्की

पाल्पा, पाल्पाको रामपुरमा रोपाई जात्रा निकालिएको छ । गाईजात्राको भोलिपल्ट निकालिने रोपाई जात्रा रामपुरमा शनिबार प्रदर्शन गरिएको हो ।

नेवाः समाज रामपुरले सदियौं देखि चल्दै आएको जात्राको निरन्तरता अन्तर्गत जात्रा निकालिएको हो । यस वर्ष जनैपूर्णिमा र प्रतिपदा एकै पटक परेकाले अन्य स्थानमा १४ गते नै गाईजात्रा निकालेर शुक्रबार रोपाई जात्रा निकालिएको थियो । तर रामपुरमा भने पूर्णिमाको दिन गाईजात्राको साईत निकालेर शुक्रबार गाईजात्रा निकालिएको थियो । सोही अनुसार गाईजात्रा निकालेको भोलिपल्ट आज रोपाई जात्रा निकालिएको हो ।

रोपाई जात्रा बेझाँड चोकमा ल्याएर दिनभर प्रदर्शन गरिएको थियो । जात्रामा दुई किशोर जुवामा नारिएर बेझाँड चोकमा निस्किएका थिए । खोक सहित जुवामा नारिएका किशोरलाई अर्का किशोरले खेड्दै थिए । बाउसेको भेषमा केही खेतका गह्रा मिलाउँदै थिए त केही विउ बोकेर अघि बढ्दै थिए । जात्रामा किशोर, किशोरीहरुको सहभागीता रहेको थियो । गोलो आकार बनाएर उनीहरुले धानको वीउको रुपमा सिरुको प्रयोग गरी पञ्चे बाजाको धुनमा धान रोपेको अभिनय गरेका थिए । उनीहरुलाई समुदायका पाका पुस्ताले सहयोग गरेका थिए । नेवाः समाज रामपुरका अध्यक्ष बाबुराम श्रेष्ठले गाईजात्राको भोलिपल्ट निकालिने जात्रालाई अनवरत रुपमा निरन्तरता दिदै आएको बताउनुभयो ।

जात्रा यस क्षेत्रमा कहिले बाट सुरु भयो भन्ने एकिन नभए पनि रामपुरमा नेवार समुदायले पूर्खाहरु देखि नै आफ्नो संस्कृति अनुसार गाईजात्रा, रोपाई जात्रा र लाखे नाच प्रदर्शन गर्दै आएको छ । युवाहरुको रोपाई जात्रामा बढी सहभागीता रहे पनि पछिल्ला पुस्ताहरुमा पनि हस्तान्तरण गर्नु पर्छ भन्ने मान्यताका साथ भर्खरका किशोरहरुलाई पनि सहभागी गराईएको नेवाः समाज रामपुरका सचिव विमल श्रेष्ठले जानकारी दिनुभयो । किशोरहरुलाई मात्र महिला भेषमा रोपाई जात्रामा प्रस्तुत गर्दै आए पनि पछिल्लो समय किशोरीहरुलाई पनि समावेश गर्दै आएको छ । जात्रा अवलोकनका लागि सयौंको संख्यामा उल्लेख्य सहभागीता रहेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?