पाल्पा, आज भाद्र कृष्ण अष्टमी । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ। कंशको अत्याचार बाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो ।
चारैतिर सेनाको कडा सुरक्षा हुँदा पनि भगवान् विष्णुको मोहित पार्ने शक्तिका कारण श्रीकृष्ण जन्मिएका बेलामा सबै सैनिक गहिरो निद्रामा परेका थिए । त्यसैबेला आकाशवाणी मार्फत वासुदेवलाई ‘नवजात शिशु कृष्णलाई वृन्दावन स्थित मित्र नन्दका घरमा पुर्याऊँ’ भन्ने आकाशवाणी भएको थियो । यही मोहित पार्ने शक्ति भएका कारण आजको रात्रिलाई मोहरात्रि पनि भनिन्छ । वासुदेव नन्दको घरमा गई कृष्णलाई त्यहीँ छोडी त्यही दिन नन्द पत्नी यशोदाको गर्भ बाट जन्मिएकी बालिकालाई लिएर आएपछि मात्र सैनिक ब्युँझिएको प्रसङ्ग म हाभारत ग्रन्थमा उल्लेख गरिएको छ । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरिदिनुभएको थियो । अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरुप आजको पर्व मनाउने गरिएको हो ।
कृष्ण जन्माष्टमीलाई सातम, आठम, गोकुलष्टमी, अष्टमी रोहिनी, श्रीकृष्ण जयन्ती, श्री जयन्ती वा कहिलेकाही साधारण भाषामा जन्माष्टमी भन्ने गरिन्छ । भगवान विष्णुको आठौं अवतारको रूपमा श्री कृष्णको जन्मदिनको अवसरमा हिन्दूहरूले मनाइने वार्षिक पर्व हो । श्रीकृष्णा जन्माष्टमीमा हिन्दूहरूले भगवान श्री कृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई मोहरात्री भनिन्छ ।
जन्माष्टमीका दिन अधिराज्यका कृष्ण मन्दिरहरूमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गर्नुका साथै विशेषगरी महिलाहरू व्रत बसी रातभर जाग्राम बस्ने चलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट मानवमात्रको संरक्षण गर्न भगवान् विष्णुको आठौं अवतारको रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो ।
कुरुक्षेत्रमा कौरबहरूसँगको लडाईमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भागवत गीता हिन्दूहरूको पवित्र ग्रन्थ मानिन्छ । जन्माष्टमीमा पाटनको मंगलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्छ । साथै देशका विभिन्न कृष्ण मन्दिरहरुमा मेला लाग्ने गर्दछ । साथै पाल्पाको रम्भा देवी, पवित्र धार्मिक स्थल सीताकुण्ड, बेझाँडको राधाकृष्ण मन्दिरमा पुजापाठको लागि भक्तजनहरुको उपस्थिति रहने गर्दछ । सीताकुण्डमा रहेको कुण्डमा स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ ।
त्रेतायुगमा भगवान रामचन्द्रले वनबासको समयमा सीता रजस्वला भएको समयमा वाण प्रहार गरी पानी निकालेर नुहाउने व्यवस्था मिलाएको पौराणिक कथन रहेको छ ।