पाल्पा, पाल्पाको तानसेनमा विहिबार २ सय ३ औं ऐतिहासिक भगवती जात्रा हर्षोल्लाहका साथ निकालिएको छ । नेपाली सेनाले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा पाल्पामा आज वीरताको प्रतीकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
पाल्पाका तत्कालिन तैनाथवाला कर्णेल उजिर सिंह थापाको नेतृत्वमा नेपाली सेनाले वि. सं १८७१ पौष देखी १८७२ जेठ सम्म पाल्पा नुवाकोट, बुटवल जितगढी युद्धमा नेपालले अंग्रेजलाई पराजित गरेको थियो । कर्णेल थापाको नेतृत्वमा भएको युद्धमा नेपालले विजय प्राप्त गरेको थियो । प्रशासक कर्णेल थापाले बुटवल जितगढी युद्धमा विजयी भएमा तानसेनमा भगवतीको ठुलो मन्दिर बनाई भगवतीको महिमा चारैतिर फैलाउने छु भनी भाकल गरी युद्धमा गएका थिए । दुई पटक सम्म बुटवल जितगढी क्षेत्रमा भएको युद्धमा विजयी भए संगै कर्णेल उजिर थापाले वि.स. १८७२ देखी ७६ सम्म गजुर सहितको तीन तले मन्दिर निर्माण पुरा गरेपछी वि.स. १८७७ देखि तानसेनमा विजयउत्सव मनाउन थालिएको हो ।
रथयात्रामा लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, नेपाली सेनाका बलाधिकृत रथी सरोज प्रताप राना लगाएतको उपस्थिति रहेको थियो । मुख्यमन्त्री चौधरीले भगवती जात्रा नेपाल र नेपालीको शीर उच्च पार्ने वीरताको गौरव भएको बताउनुभयो । जात्राको अवसरमा पाल्पाका सरकारी कार्यालयका कर्मचारी सरकारी पोशाकमा आएका छन् । यस्तै, विद्यार्थी र शिक्षकहरु समेत सहभागी भएका थिए । धार्मिक संघ संस्थाका झांकी, शिक्षक, विद्यार्थी साथै तानसेनका टोल विकास संस्थाका सदस्यहरु जात्रामा सहभागी भएको भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोकमान महर्जनले बताउनुभयो ।
पाल्पाको सदरमुकाम तानसेनमा हजारौं जात्रालु, जिल्ला र जिल्ला बाहिर बाट आएका थिए । जात्राका अवसरमा तानसेन, भगवतीटोलमा रहेको श्री ७ रणउज्जेश्वरी भगवतीको मूर्ति रथमा राखेर सिन्दुर जात्रा गरिएको थियो । कुमाल समुदायका युवाहरुले १२ बजेर ३० मिनेटमा भगवतीको प्रतिमुर्ति राखिएको रथलाई उठाएर नगर परिक्रमा गराएको थियो । भगवतीको रथको दुवैतिर तेर्साईएका दुई बलिया नोलहरुलाई काधमा बोकी जयजयकारको गुञ्जन ध्वनी र बन्दुकको बडाईका साथ मुर्तीलाई रथमा राखेर नगर परिक्रमा गरिएको छ । भगवती जात्राको अवसरमा बुधबार लुम्बिनी प्रदेश सरकारले पाल्पामा सार्वजनिक विदा समेत दिदै आएको छ ।