नेम्वाङको निधनमा शोक मनाउन बिहीबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं, संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधनमा शोक मनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । एमाले वरिष्ठ उपाध्यक्षसमेत रहेका प्रतिनिधिसभा सदस्य नेम्वाङको मंगलबार विहान असामयिक निधन भएको थियो ।

मंगलबार विहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको निधनमा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै संविधानसभाका अध्यक्ष नेम्वाङको अन्तिम संस्कार २८ भदौ बिहीबार हुने भएकोले उक्त दिन नेपालभरका सबै सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा सार्वजनिक बिदा हुने जनाएको छ । मन्त्रालयले विहिबार सबै निकायका कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने पनि जानकारी गराएको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपालको संविधान निर्माण तथा जारी गर्न नेम्वाङले निर्वाह गरेको भूमिका तथा नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न पु¥याएको योगदानको उच्च कदर गर्दै अन्तिम सम्मानको व्यवस्था गर्ने तथा शोक मनाउन अन्तिम संस्कार हुने दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?