इमान सिं राना
पाल्पा, बालअधिकार सुनिश्चितताका लागि छलफल, अन्तरक्रिया तथा विभिन्न प्रतियोगिता गरी पाल्पामा ५९ औं राष्ट्रिय बालदिवस मनाएका छन् । जिल्लाका स्थानीय तहले दिवस विशेष कार्यक्रम गरेका थिए । यता निस्दी गाउँपालिकाले भने बाल अधिकार सम्बन्धी बालगीत प्रतियोगिता गरी दिवस मनाएको छ ।
दिवसको अवसरमा पालिकाले गत भाद्र १७ गते देखि वडामा प्राथमिक तह स्तरीय बालगीत प्रतियोगिता सञ्चालन गरेको थियो । सात वटै वडामा उत्कृष्ट विद्यालय छनौट गरी शुक्रबार दिवसको अवसरमा पालिका स्तरीय बालगीत प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा अंशुवर्मा माध्यमिक विद्यालय निस्दी २ प्रथम, जनता माध्यमिक विद्यालय निस्दी ५ द्वितिय र जलदेवी आधारभूत विद्यालय निस्दी ४ तृतिय भएका छन् । विजेता हुन सफल समुहले क्रमश नगद ४ हजार ८ सय, ४ हजार र ३ हजार ४ सय सहित प्राप्त गरेको छ । सहभागी समुहलाई २ हजार ६ सय सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।
प्रतियोगीतामा सहभागी बालबालिकाहरुले बालगीत मार्फत बालअधिकार सुनिश्चितताको आवाज उठाएका थिए । बालविवाह, बालश्रम तथा बाल हिंसा मुक्त समाज निर्माण, बालबालिकालाई शान्ति क्षेत्र घोषणा, बालपोषण तथा शिक्षाको सुनिश्चितता र अन्धविश्वास रहित समाजको विकासका बारेमा सहभागीले गीत मार्फत सरोकारबालाहरुको ध्यानकर्षण गराएको थिए ।
कार्यक्रममा सहभागी लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले बालबालिकाले उठान गरेको विषयले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बताउनुभयो । बालबालिको बाँच्न पाउने अधिकारी, संरक्षणको अधिकार, विकासको अधिकार र सहभागीताको अधिकार व्यवहारिक रुपमै सुनिश्चितताको लागि प्रतिवद्ध हुनु आवश्यक रहेको बताउनुभयो । उहाँले बालबालिकालाई एक अर्का संग तुलना गर्न नहुने भन्दै दबाबमा नभई उनीहरुको रुची अनुसारका क्रियाकलापमा सहभागी गराउन आग्रह गर्नुभयो ।
निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर थापाले बालबालिका क्षेत्रमा गरेको खर्च खर्च नभै भविष्यको लागि लगानी भएको बताउनुभयो । उहाँले बालमैत्री स्थानीय शासन लागु गर्न पालिका प्रतिवद्ध भएर लागि परेको बताउनुभयो । निस्दी गाउँपालिकाका उपाध्यक्ष तिरन कुमारी श्रेष्ठले बालको अधिकार सुनिश्चितता संगै प्रत्याभूति दिलाउन गाउँपालिकाले अभियान सञ्चालन गर्दै आईरहेको जानकारी दिनुभयो । प्रमुख प्रशासकिय अधिकृत ध्रुव दयालले बालबालिका सम्बन्धी संविधानमा गरिएको व्यवस्था कार्यान्वयनका लागि सबै सरोकारवालाहरु उत्तिकै जिम्मेवार हुनु आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा महालेखा परीक्षक टोली प्रमुख सत्यनारायण थापा, नेकपा एमाले जिल्ला कमिटी पाल्पाका उपाध्यक्ष देवीलाल लामिछाने, नेकपा एमाले निस्दी गाउँ कमिटी अध्यक्ष नर बहादुर सुनारी, नेपाली कांग्रेस निस्दी गाउँ कार्यसमितिका सभापति पूर्ण बहादुर खाँण, निस्दी गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडा अध्यक्ष मेख बहादुर सुनारी, वडा नं. ३ का वडा अध्यक्ष नविन्द्र थापा सोती, कान्तिपुर दैनिकका उपसम्पादक माधव अर्याल, नेपाल राष्ट्रिय शिक्षक संगठन निस्दीका अध्यक्ष लोक बहादुर सारु, पछौटेपन उन्मुलन समाज बेस नेपालका सचिव भेषराज पोखरेल र इन्द्रेणी समाज केन्द्रका अध्यक्ष राम बहादुर पाटाले आफ्ना भनाई राखेका थिए ।
निस्दी गाउँपालिकाका बालकल्याण अधिकारी कुश्माखर पाण्डेयले पञ्च वर्षिय योजना कार्यान्वयन गर्दै अघि बढेको जानकारी दिनु भएको थियो । कार्यक्रममा गौरीशंकर माध्यमिक विद्यालयका विद्यार्थीहरुले बालविवाह न्यूनिकरण सम्बन्धी सचेतनामूलक सडक नाटक प्रस्तुत गरेका थिए । बालगीत प्रतियोगिताको निर्णायक संयोजकमा भुपेन्द्र सुनारी, सदस्यमा धनमायाँ दिसुवा र राम बहादुर पाटा रहनु भएको थियो । निस्दी बाल क्लव समन्वय समितिका अध्यक्ष जेनिशा सोतीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सुसेली बालमञ्च अंशु वर्मा माविका सचिव अनिता वि.क.ले गर्नु भएको थियो ।