रामपुरमा मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न

पाल्पा, हरितालिका तीजको पूर्व सन्ध्यामा शनिबार रामपुरमा उप–प्रमुख तीज विशेष कार्यक्रम अन्तर्गत मौलिक तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । रामपुर नगरपालिकाको आयोजनामा तीजको मौलिकपन जोगाउन तथा सचेतना जगाउन प्रतियोगिता भएको हो ।

रामपुर नगरपालिकाको परिसरमा भएको प्रतियोगिता शनिबार राती सम्म जारी रहेको थियो । जस अन्तर्गत खुल्ला मौलिक तीजगीत प्रतियोगिता तर्फ २२ समुहको सहभागीता रहेकोमा प्रथम मिन भण्डारी न्यौपानेको समुह, द्वितिय विना घिमिरे समुह, तृतिय पूर्वी पाल्पा सक्रिय आमा समुह र आकृति घिमिरेको समुह सान्त्वना भएको छ । मौलिक तीजगित तथा नृत्य प्रतियोगितामा विजयी सहभागीले क्रमश नगद २५ हजार, १५ हजार, १० हजार र ५ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । यस्तै ३४ समुहको सहभागीता रहेको तीज नृत्य प्रतियोगितामा प्रथम शिवानी खाँण, द्वितीय रामपुर इङ्गलिश बोर्डिङ्ग, तृतिय पुर्णिमा गैह्रे र सान्त्वना सुस्मिता मरासीनी भएको मुल्याङ्कन समितिका संयोजक लेखनाथ शर्मा मरासिनीले जानकारी दिनुभयो । तीज गित नृत्य प्रतियोगिता तर्फ विजयीले क्रमश ७ हजार, ५ हजार, ४ हजार र ३ हजार सहित प्रमाण पत्र प्राप्त गरेको छ ।

मौलिक तीजगित प्रतियोगितामा सहभागी रामपुर सहित गण्डकी बेशी क्षेत्रका प्रतियोगिले महिला अधिकार, नारीको वेदना, महिला हिंसा, वैदेशिक रोजगारले समाजमा देखिएका समस्या सहित वर्तमान समाजको यथार्थता गीत मार्फत प्रस्तुत गरीरहेका छन् । तीजनृत्यमा तीजगितमा नृत्य गरेका थिए ।

कार्यक्रममा रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय मौलिकता हराएको हो की भन्ने आभास हुँदै गएको सन्दर्भमा कार्यक्रमले मौलिक पन जोगाउन उर्जा प्रदान गरेको बताउनुभयो । सहभागीले गीत मार्फत उठान गरेका विषयले जनप्रतिनिधि र सरोकारवालाहरुलाई सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले पर्वलाई आफुमा जे छ सोही अनुसार सन्तुष्टि लिएर खुशीका साथ मनाउन आग्रह गर्नुभयो । तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले गीत बाट प्रस्तुत भएका विषयले स्थानीय तह, प्रदेश र संघिय सरकारलाई सोच्न बाध्य बनाएको बताउनुभयो । उहाँले युवा शक्ति विदेश पलायन हुँदा देशमा जेष्ठ नागरिक, बालबालिका र अशक्तहरु मत्र रहने अवस्था सृजना भएको भन्दै स्वदेश मै स्वरोजगार सृजना गर्नका लागि स्थानीय तहले पनि सिमित स्रोत र साधनका विच प्रयास गरिरहेको जानकारी दिनुभयो । रामपुर नगरपालिकाका सल्लाहाकार नेत्र प्रसाद भट्टराई र रामपुर नगरपालिकाका निवर्तमान उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले मौलिकपन जोगाउँदै आफ्नो गक्ष अनुसार पर्व मनाउन आग्रह गर्नुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तीजको मौलिकपनलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो । उहाँले पर्वहरुको नाममा विकृति फैलिएको भन्दै यसको नियन्त्रणका लागि पालिकाले पनि आगामी दिनमा कदम चाल्ने बचाउनुभयो । रामपुर नगरकार्यपालिका सदस्य दुर्गा देवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन रामपुर नगरपालिकाका पार्वती परियार र प्रेस सल्लाहाकार दानु हिस्की मगरले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?