आज हरितालिका तीज, महादेवको पूजा आराधना गरी मनाईदै

पाल्पा, आज नेपाली महिलाहरूकाे महान पर्व हरितालिका तीज। महादेवको पूजा आराधना गरी मनाइँदैछ । हरेक वर्षको भाद्र शुक्ल तृतीयाका दिन यो पर्व मनाउने गरिन्छ ।

अघिल्लो दिन पोषणयुक्त दर खाएर बसेका नारीहरूले तिजका दिन पानी समेत नपिई आफू, आफ्ना सन्तान र पतिको सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै निराहार ब्रत बस्ने चलन छ ।परापूर्वकालमा माता पार्वतीले भगवान शिवलाई पतिको रुपमा पाउन निराहार ब्रत बसेको र कामना पूरा भएको धार्मिक विश्‍वाससाथ अविवाहितले राम्रो पति पाउन र विवाहीताहरुले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै व्रत बस्‍ने चलन छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरे सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

गत वर्ष तीजका दिन बिहानै नुहाइ धुवाइ गरेर भगवान शिवको पूजा आराधना गर्दै नाचगान र रमाइलो गर्ने गरिथ्याे  । तर याे वर्ष काेराेनाले तीज पूरै सुनसान छ  । तीजको रमझम र चहलपहल नै छैन । काेराेना जाेखिमका कारण पशुपतिलगायतका देशभरका शिवालयहरू बन्द गरिएका छन् ।  भीडभाडले संक्रमण फैलिन सक्ने कुरालाई ध्यान दिँदै देशका विभिन्न ठाउँमा निषेधाज्ञा लागू गरिएकाे छ । तसर्थ  यस वर्ष नारीहरूले घरमै महादेवको पूजा आराधना गरी तीन मनाउँदै छन् ।

दरखाने दिनसँगै औपचारिक रुपमा शुरु हुने तीज ऋषिपञ्‍चमीसम्म चार दिन मनाइन्छ । तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेश भगवानको पूजा र पञ्चमीका दिन स्नान गरी सप्तऋषिको पूजा गरेर तीज  सकिन्छ । तीजकाे अघिल्लाे दिन हिजाे दर खाइएका छन् । तीजकाे अवसरमा नेपाली नारीले वर्षदिनभर आफूलाई परेका दुःख, पीर, मर्कालाई गीतमार्फत पोख्‍ने गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?