पाल्पा , रामपुर नगरपालिका वडा नं. ५ मटेरी पाल्पामा फनपार्क सञ्चालनमा आएको छ । आइकोनिक ग्रुप प्रालिको लगानीमा निर्माण भएको रामपुर फनपार्कको साेमबार विधिवत रुपमा उद्घाटन सहित तीज गीत प्रतियोगिता सम्पन्न भएको भएको छ ।
फनपार्कको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुरको पर्यटन प्रबद्र्धन र विकासमा यसले थप टेवा पुग्ने बताउनुभयो । नगर भित्र आन्तरिक र बाह्य पर्यटन भित्र्याउनका लागि यस्ता पार्कहरुको महत्वपूर्ण भूमिका हुने भन्दै संचालन सफलताको शुभकामना दिनुभयो । उहाँले नगरको पर्यटन प्रबद्र्धन गर्ने दायित्व स्थानिय सरकारको भएता पनि यसका लागि निजि क्षेत्रले पनि सघाउन आवश्यक रहेको उल्लेख गर्नुभयो । पर्यटनको विकासका लागि निजि क्षेत्रबाट भएको लगानी र यो महत्वपूर्ण कामको प्रसंशा गर्नु भयो ।
महिलाहरुको महान चाड तीजको प्रसंग जोड्दै नगर प्रमुख थापाले पछिल्लो समय तीज लगाएत विभिन्न चाड पर्वको मौलिकता हराउँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । मौलिक तीजका भाकाको संरक्षण र चाडपर्व मनाउने शैलिको निरन्तरताका लागि सबै लाग्न आवश्यक रहेको औल्याउँनुभयो । उहाँले यसको संरक्षणका लागि यस्ता विभिन्न प्रतियोगिताले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
कार्यक्रममा महिला नेतृ विष्णुमाया ढकालले भड्किलो संस्कारले हरेक संस्कृति र चाडवर्पको महत्व घट्दै गएको बताउनुभयो । विगतको समयमा तीज पर्व मनाउने शैली र अहिलेको शैली धेरै फरक भएको भन्दै मौलिकताको संरक्षण र यसको सुधारका लागि लाग्नु पर्ने बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ५ का अध्यक्ष दुर्गा प्रसाद पोखरेल , वडा नं. ७ का अध्यक्ष दोवराज तिवारी , नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई , एकिकृत समाजवादीका अध्यक्ष फणेश्वर गौतम , रामपुर आईकोनिक ग्रुपका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , सञ्चालक समिति सदस्य पुरुषोत्तम केसीले बोल्नु भएको थियो ।
फनपार्क उद्घाटनका अवसरमा पूर्वी पाल्पा सक्रिय आमा समुह रामपुर ५ पाल्पाको आयोजना र आइकोनिक ग्रुपको सहयोगमा खुल्ला तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । आमा समुहका अध्यक्ष सावित्रा गौतमको अध्यक्षतामा भएको प्रतियोगिता रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । आमा समुहकी तुलसी गौतमको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन आईकोनिक ग्रुपका सचिव दिपेन्द्र भट्टराई र पवित्रा पौडेल ढकालले गर्नु भएको थियो । ९ समुहको सहभागिता रहेको प्रतियोगितामा प्रथम मिना भण्डारी न्यौपाने रामपुर १० को समुह ,द्धितिय गिता घिमिरे रामपुर ६ को समुह र तृतिय सावित्रा पराजुली रामपुर ५ पाल्पाको समुह भएको छ ।