पाल्पा, अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीको आयोजनामा ३५ औं तीजगीत प्रतियोगिता सम्पन्न भएको छ । प्रत्येक वर्ष हरितालिका तीजको भोली पल्ट संघले सञ्चालन गर्दै आएको प्रतियोगिता मंगलबार सम्पन्न भएको हो ।
प्रतियोगिताको उट्घाटन गर्दै नेकपा एमालेका केन्द्रिय सदस्य एवं अखिल नेपाल महिला संघका केन्द्रिय उपाध्यक्ष शर्मिला कार्कीले हाम्रा धर्म र संस्कृति मान्यता अनुसार पुरुषलाई प्राथमिकता दिने प्रवृतिले महिलाहरु पछि परेको बताउनुभयो । महिलाहरुको ३३ प्रतिशत सहभागीताको लागि अखिल नेपाल महिला संघले महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । महिलाको अधिकारको लागि संघ निरन्तर लागि परेको बताउनुभयो । प्रतिनिधि सभा सदस्य नारायण प्रसाद आचार्यले मुलुकमा व्यवस्था परिवर्तन भए पनि अवस्था अझै परिवर्तन नभएको बताउनुभयो । संविधानले महिला सहभागिताको सुनिश्चितता गरे पनि दलहरुको गठबन्धनको कारण महिलाहरुलाई पछि पार्ने काम भएको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मुलुकलाई याहाँ सम्म ल्याउन महिलाहरुको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।
प्रतियोगितामा १२ समुहको सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम वडा नं. ३ को कल्पना शाहीको समुह, द्वितिय रामपुर नगरपालिका वडा नं. १० का मिना भण्डारीको समुह, तृतिय वडा नं. ३ रजघराको रञ्जु भट्टराईको समुह र सान्त्वना चापाकोट नगरपालिकाका मिरा अर्यालको समुह भएको निर्णायक मण्डलका संयोजक बन्दना पोखरेलले जानकारी दिनुभयो । प्रतियोगितामा मिना अधिकारी रामपुर ८ को समुहलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा विजयी समुहलाई क्रमश नगद १५ हजार, १२ हजार, ९ हजार र ६ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियो । सहभागी प्रतियोगिहरुले महिला अधिकार, विकास, समसामयिक राजनैतिक घटनाक्रमका विषय उठान गरेका थिए ।
संघले समाजमा महत्वपूर्ण योगदान दिनु भएका रामपुर ६ का योगमायाँ रेग्मी, रामपुर १० का बसीसरा कुमाल र रामपुर ३ का जमुना जमुना न्यौपानेलाई सम्मान गरेको छ । अखिल नेपाल महिला संघ रामपुर नगर कमिटीका अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम कोषाध्यक्ष नारायणी सुवेदीको स्वागत र सचिव सञ्जु परियारको सञ्चालनमा भएको हो ।