पाल्पा , रामपुर नगरपालिकाले पूर्व उपसभामुख पुष्पा भुसाललाई स्वागत सहित सम्मान गरेको छ । नगरपालिकाले पूर्व उपसभामुख तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं सचेतक भुसाललाई एक कार्यक्रमका विच सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै पूर्व उपसभामुख भुसालले जनतको आधारभुत आवश्यकतालाई परिपूर्ति गरि वृहत्तर हित हुने गरि काम गर्न आग्रह गर्नुभयो । उहाँले स्थानीय सरकारका जनप्रतिनिधिले जनताको मन जित्ने गरि काम गर्न आवश्यक रहेको बताउनुभयो । देश संघियतामा गए पनि पूर्ण रुपमा कार्यान्वयनमा आउन नसक्नु स्थानीय तहका लागि दुखद रहेको उल्लेख गर्नुभयो । जनताले सहज सेवा खोज्ने तर हरेक काम गर्न नियम कानुन र कार्यविधिको आवश्यकता पर्ने र सोही अनुसार काम गर्नु पर्ने जनप्रतिनिधिको बाध्यताका कारण जनगुनासो बढि आउने औँल्याउनुभयो । साथै स्थानीय तह अधिकारपूर्ण बनाउनका लागि केन्द्र सरकारमा आफुले पहल गरिरहेको बताउनुभयो ।

पूर्व उपसभामुख भुसाललाई स्वागत गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सिमित स्रोत साधनका विच पनि नगरको विकासमा प्रतिबद्ध भएर लागि रहेको जानकारी दिनुभयो । साथै उहाँले दीर्घकालिन विकासका लागि समाजिक विकासको महत्व रहेकाले सामाजिक विकासमा जोड दिएर काम गरिरहेको बताउनुभयो । नगर प्रमुख थापाले स्थानीय तहलाई पूर्ण अधिकार सम्पन्न बनाउनका लागि केन्द्रिय स्तरबाट पहल हुन आवश्यक रहेको उल्लेख गर्नुभयो । रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन प्रेस सल्लहाकार दानु हिस्की मगरले गर्नु भएको थियो ।
