पाल्पा, रामपुर नगरपालिका ७ किसानबारीमा १६ औं तीजगित प्रतियोगिता सम्पन्न भएको छ । किसानबारी बजार व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता भएको हो । हरितालिका तीजको अवसरमा प्रत्येक वर्ष ऋषि पञ्चमीको दिन गर्दै आएको प्रतियोगिता तिथी घटबढ संगै अन्य स्थानको कार्यक्रम संग जुधेकाले विहिबार प्रतियोगिता गरेको थियो ।
प्रतियोगिताको उट्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले तीजको मौलिपन जोगाउनका लागि प्रतियोगिताहरुले महत्वपूर्ण सहयोग गरेको बताउनुभयो । उहाँले तीज पर्वको नाममा पछिल्लो समय विकृति फैलिदै गएको भन्दै यस प्रति सचेत हुनु आवश्यक रहेको बताउनुभयो । थापाले नगर भित्रका बजार क्षेत्रहरुको व्यवस्थापनका लागि नगरपालिका प्रतिवद्ध भएर लागि रहेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारीले तीजगित प्रतियोगिताले महिलाहरुको भावन साटासाट गर्न तथा अधिकारका लागि एकितृत हुन सहयोग गरेको बताउनुभयो ।
गण्डकी वेशी क्षेत्रका १८ समुहको सहभागीता रहेको प्रतियोगितामा प्रथम स्मृति घिमिरेको समुह, द्वितिय रामपुर ७ का पूर्णिमा गैरेको समुह, तृतिय सुप्रिया श्रेष्ठको समुह, सान्त्वना मातृशक्ति फाउण्डेशन रामपुरको समुह भएको छ । प्रतियोगिताका विजेताहरुलाई क्रमश नगद १५ हजार, १० हजार, ५ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिहरुले महिला अधिकार, विकास, समाज र देश परिस्थितिको विषय उठान गरेका थिए । ज्योतिपुञ्ज युवा क्लवको मञ्च किसानबारीमा भएको प्रतियोगिता किसानबारी बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल बहादुर दमैको अध्यक्षतामा भएको थियो । किसानबारी बजार व्यवस्थापन समितिका सदस्य सुनिता रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पत्रकार बन्दना पोखरेलले गर्नु भएको हो ।

