पाल्पा, रामपुर नगरपालिका–७, किसानबारीमा ज्योतिपुञ्ज कप फुटबल प्रतियोगिता हुन गैरहेको छ । ज्योति पुञ्ज युवा क्लवको आयोजनामा यहि असोज २२ गते देखि २८ गते सम्म हुन लागेको प्रतियोगिताको तयारी तिव्रगतिमा भैरहेको छ ।
विजयादशमी, शुभदिपावली संगै क्लवको २७ औं वार्षिक उत्सवको अवसरमा स्थानीय खेल प्रतिभाको उजागर तथा रामपुरलाई खेलकुदको माध्यम बाट चिनाउन प्रतियोगिता सञ्चालन गर्न लागिएको ज्योतिपुञ्ज युवा क्लवका अध्यक्ष सुदिप गौतमले जानकारी दिनुभयो । प्रतियोगिताको सहयोगी संस्थाहरुमा रामपुर युनाईटेड फुटबल क्लव, नगर खेलकुद विकास समिति रामपुर, जिल्ला फुटबल संघ पाल्पा र रामपुर उद्योग वाणिज्य रहेको छ । संरक्षकमा रामपुर नगरपालिका रहेको छ ।
प्रतियोगिताका विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले १ लाख ५ हजार ५ सय ५५ प्राप्त गर्नेछ । साथै वेष्ट प्लेयर, वेष्ट किप्पर, हाई स्कोरर, वेष्ट डिफेन्डर, म्यान अफ द म्याच लगाएतका विद्यामा पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा राष्ट्रिय टिममा सहभागी खेलाडीहरुको समेत उपस्थिति रहने खेल संयोजक अनिल शाहीले जानकारी दिनुभयो । रामपुर नगरपालिका भित्र बाट २ टिमले सहभागीता जाउने छ । सहभागी खेलाडीहरुलाई जिल्ला फुटबल संघ पाल्पाका प्रशिक्षक रितेश मल्ल मार्फत तालिम सञ्चालन भैरहेको छ ।
क्लवका अध्यक्ष गौतमले प्रतियोगिताको अवसरमा विद्यार्थीहरुको बौद्धिक विकासको लागि माध्यमिक तह स्तरीय हाजिरीजवाफ प्रतियोगिता पनि आयोजना गरेको छ । कार्यक्रममा स्थानीय स्तरमा रहेका मौलिक संस्कृति प्रदर्शन संगै पाल्पाको मौलिक खानाका परिकारहरु पनि विक्री वितरणको व्यवस्था गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हाम्रा खेल प्रतिभाको उजागर संगै संस्कृतिको पहिचान दिनु पनि हाम्रो लक्ष्य हो ।” कार्यक्रमको तयारी तिव्रगतिमा भैरहेको उहाँले बताउनुभयो । प्रतियोगिताको लागि असोज १५ गते सम्मका लागि दर्ता खुल्ला गरिएको छ ।